लुम्बिनी प्रदेश सभामा कांग्रेस सांसद निमा गिरीलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिकी सहमहामन्त्री समेत रहेकी लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) निमा गिरीलाई काठमाडौंस्थित अमेरिकी राजदूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य गिरी नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनमा जान भिसाका लागि आवेदन दिएकी थिइन् । सांसद गिरीसँगै आवेदन दिएका केन्द्रीय महामन्त्री गुरुराज घिमिरे र सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’लाई भने अमेरिकाले भिसा दिएको छ । गिरीलाई अमेरिकाले भिसा नदिएको कारण खुलाइएको छैन । घिमिरे र रसाईली प्रतिनिधि सभाका पूर्वसांसद समेत हुन् ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपा निकट उच्च स्रोतका अनुसार अमेरिका जानका लागि महामन्त्री घिमिरे र सहमहामन्त्री रसाईली तथा सांसद गिरीले पार्टी कार्यालयबाट सिफारिस लगेका थिए । गगन थापाका काका ससुरा समेत रहेका नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनञ्जय नरसिंह के.सी.ले घिमिरे, रसाईली र गिरीलाई अमेरिका बोलाउनका लागि निमन्त्रणा पठाएका थिए ।

नेपाली जनसम्पर्क समिति, अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशन २०२६ अगस्ट १४, १५ र १६ सम्म भर्जिनियामा हुने कार्यक्रम रहेको छ ।

अमेरिकामा जनसम्पर्क समितिका २६ वटा च्याप्टर (शाखा) छन् । नेपाली जनसम्पर्क समिति अमेरिका नेपाली कांग्रेसको भ्रातृ संस्था हो ।

कांग्रेस लुम्बिनीकी सहमहामन्त्री एवम् सांसद गिरीसँग प्रतिक्रिया लिन प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

Published : Thursday, 2026 August 6, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया