खाडी मुलुकमा काम गरी फर्किनेहरूलाई प्रहरीको विशेष अनुरोध, अन्यथा कानूनी झमेला हुने चेतावनी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्याल, गौचर, काठमाडौंले विदेशबाट नेपाल आउने नेपाली नागरिकहरूसँग तस्कर र दलालहरूको प्रस्ताव नमान्न विशेष अनुरोध गरेको छ ।
प्रहरीले मंगलबार विशेष सूचना जारी गरेर हालका दिनहरूमा दुबई, कतार लगायतका विभिन्न मुलुकमा श्रम स्वीकृतिमा काम गरी नेपाल आउने क्रममा केही नेपाली नागरिकहरूलाई अपरिचित व्यक्तिहरू, दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाई कानून विपरितका कार्य गराउने गरेको भन्दै सजक रहनु अनुरोध गरेको छ ।
नेपाल फर्किने कामदारहरूलाई दलाल र तस्करहरूले प्रलोभनमा पारेर सुनका सिक्री, अन्य बहुमूल्य धातुका सामान तथा वस्तु नेपाल ल्याइदिन आग्रह गर्ने र त्यसका लागि खरिद बिल समेत उपलब्ध गराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
यस्ता वस्तुहरू नेपाल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानून बमोजिम जाँच हुँदा अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पक्राउ परी कानूनी कारबाहीको सामना गर्नुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै प्रहरीले त्यस किसिमका सुन तथा बहुमूल्यबस्तुहरू नल्याउन अनुरोध गरेको छ ।
प्रहरीले सूचनामा भनेको छ, ‘अपरिचित व्यक्ति, सुन तस्कर वा दलालहरूले प्रलोभनमा पारी सुन, बहुमूल्य धातु वा अन्य सामान दिएर नेपाल पठाउने गरेको पाइएकोले त्यस्ता कुनैपनि सुन, बहुमूल्य धातु वा अन्य सामान आपनो नाममा बोकेर नेपाल नल्याउनुहोस् । अरूको सामान, झोला वा प्याकेट त्यसको वास्तविक विवरण नबुझी आफ्नो जिम्मामा नलिनुहोस् ।’
‘खरिद बिल वा अन्य कागजात भएको भन्दै कानूनी जिम्मेवारीबाट मुक्त भइन्छ भन्ने भ्रममा नपर्नुहोस्,’ सूचनामा प्रहरीले भनेको छ, ‘आफ्नो सानो लापरवाहीले ठूलो कानूनी समस्या निम्त्याउन सक्छ । दलालको प्रलोभनमा नपरौं, अवैध सुन ओसारपसारबाट टाढा रहौं । विमानस्थलमा भेटिएका शंकास्पद गतिविधि वा प्रलोभनबारे सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउनुहोस् ।’

बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया