समाजसेवी दुर्गा प्रसाईं रिहा, म्याद थप गर्न अदालतद्वारा अस्वीकार

काठमाडौं । भक्तपुर जिल्ला अदालतले मेडिकल व्यवसायी एवम् समाजसेवी दुर्गा प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेपछि रिहा भएका छन् ।

सोमबार न्यायाधीश नवराज दाहालको इजलासले सरकारी वकिलको कार्यालय, भक्तपुरले मागेको म्याद दिन अस्वीकार गरेको छ । समाजसेवी प्रसाईंलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न सकिने अदालतले आदेश दिएको छ ।

अदालतको आदेशमा वादी (नेपाल सरकार) पक्षबाट प्रतिवादी प्रसाईंलाई हिरासतमा नराख्दा उनले ‘प्रमाण नष्ट गर्ने’ वा ‘भागी जान सक्ने’ भन्ने विषयमा कुनै ठोस आधार पेश हुन नसकेको उल्लेख छ ।

प्रहरीले पेश गरेको साढे ७ मिनेटको भिडियो सामग्री र प्रहरी प्रतिवेदनका आधारमा यदि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूर देखिएको हो भने सोही प्रमाणका आधारमा अभियोग पत्र पेश गर्न सकिने अवस्था रहेको आदेशमा उल्लेख छ । यसका लागि प्रसाईलाई थुनामै राख्नु अनिवार्य नदेखिएको न्यायाधीशले बताएका छन् ।

समाजसेवी प्रसाईंमाथि लागेको आरोप (गुम्बाभित्र हतियार छभन्ने र जातजातिलाई भड्काउने अभिव्यक्ति) का सन्दर्भमा प्रसाईंले ती कुरा बोलेको अवस्थामा पनि प्रमाण संकलन गरी अनुसन्धान अगाडि बढाउन सकिने र उनलाई थुनामै राख्नुपर्ने अवस्था नदेखिएको अदालतले जनाएको छ ।

यसैबीच, अदालतको आदेशपछि सोमबार साँझ रिहा भएका मेडिकल व्यवसायी एवम् समाजसेवी प्रसाईंले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘सिंहदरबार भनेको जनताको मन हो । जनताको मनमा आगो लागेको छ । जनताको शिर हो । जनताको शिरमा आगो लागेको छ । सर्वोच्च अदालत भनेको जनतालाई न्याय दिने ठाउँ हो । त्यसमा आगो लागेको छ । विश्व सम्पदा सूचीमा रहेकालाई आगो लगाएर खरानी बनाएर आएकालाई नेपाली जनताले देश जिम्मा लगाएका छन् ।’

समाजसेवदी प्रसाईंले भने, ‘सरकारको आलोचना गर्न पाउने अधिकार लोकतन्त्रको हो । लोकतन्त्र भनेको बिचारको बजार हो । तपाईहरूले मलाई जति पटक थुन्नु हुन्छ थुन्नुस् । सत्य भनेको जेलमा जन्मिन्छ । भगवान कृष्ण पनि जेलमा जन्मिनुभएको थियो । दुर्गा प्रसाईं पनि सत्य हो । जेलमा जन्मिएको छ ।’

Published : Monday, 2026 August 3, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया