अफवाह फैलाउने तथा जातीय र धार्मिक हिंसात्मक गतिविधि गर्ने युट्युबर पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीले ३९ वर्षीय जनक भुसाललाई सामाजिक सञ्जाल युट्युबमार्फत् अफवाह फैलाई जातीय तथा धार्मिक हिंसात्मक तथा ध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ गरेको छ ।

भुसालले सामाजिक सञ्जालमा फ्रेण्डस् फ्लोअर्स बढाउने तथा आर्थिक उपार्जन गर्ने नियत राखी राज्यको विद्यमान परिवेशलाई प्रत्यक्ष असर पाने तवरबाट युट्युब च्यानल नेपाली खबर टिभीमार्फत कानूनले बर्जित गतिविधि गरेको अभियोगमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिलीपकुमार गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘भ्रामक सूचना प्रवाह गर्ने भिडियो समाग्री तयार पारी, अफवाह फैलाई जातीय तथा धार्मिक हिंसात्मक तथा ध्वंसात्मक गतिविधिहरूमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित र आक्रमक बनाउने साथै कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामाग्रीहरू वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन, प्रदर्शन र प्रशारण गर्ने कार्यमा संलग्न उपर यस ब्यूरोबाट गरिएको सामाजिक सञ्जालको निग्रानी तथा प्राविधिक विश्रलेषणबाट खुल्न आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ९ वतन भई हाल रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने बर्ष ३९ का भुसाललाई इलाका प्रहरी कार्यालय, बुटवलको सहयोगमा ब्यूरोले साउन १६ गते बुटवलबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको छ ।

Published : Sunday, 2026 August 2, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया