कांग्रेसका देउवा पक्षीय नेताहरूद्वारा राष्ट्रिय भेलाका लागि संयोजक घोषणा, १६ वटा समिति गठन

काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरूले साउन २९, ३० र ३१ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भेलाका संयोजक समेत रहेका कांग्रेस नेता डा.शशांक कोइरालाले राष्ट्रिय भेला गर्न लागिएको र विभिन्न १६ वटा समितिहरू गठन भएको जानकारी दिएका छन् । डा.कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समितिको घोषणासमेत गरिएको छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किन लागेका छन् ।

नेता डा.कोइरालाले भने, ‘पार्टीभित्रको वर्तमान अवस्था, मुलुकमा देखिएका राजनीतिक, आर्थिक, सामजिक तथा धार्मिक, सांस्कृतिक लगायतका नागरिकका जीवनसँग जोडिएका विविध गम्भीर सवालहरूमा गहन छलफल गरि देखिएका हरेक चुनौतिहरूलाई सामना गर्न सक्ने, बैचारिक, नीतिगत एवं सांगठानिक दृष्टिले स्पष्ट कार्यदिशासहित पार्टीलाई सवल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा ५ सय ५१ सदस्यीय आयोजक समिति गठन गरि यही श्रावण २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको अयोेजना गरिएको छ ।’

संयोजक डा.कोइरालाको अपीलमा भनिएको छ, ‘पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयाश, धैर्यता र पहल गर्दागर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नखेलेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्वोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका छौँ ।’

राष्ट्रिय भेला प्रचार प्रसार समितिका प्रमुख मीनबहादुर बिश्वकर्माले भेलाका लागि १६ वटा समिति बनाइएको जानकारी दिएका छन् । १६ वटा समितिमा क–कसको नेतृत्व रहनेछ भन्ने बारेमा कुनै नाम भने उल्लेख गरिएको छैन ।

बिश्वकर्माका अनुसार राष्ट्रिय भेलाका लाग आयोजक समितिमा ५ सय ५१ सदस्य रहनेछन् । १४औँ महाधिवेशबाट निर्वाचित तथा मनोनीत केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, पूर्व केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारीहरू, जिल्ला कार्यसमितिका सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर÷नगर कार्यसमितिका सभापतिहरू, संघीय सांसद तथा प्रदेश सांसदहरू, पूर्व संघीय तथा प्रदेश मन्त्री एवं सांसदहरू, भ्रातृ संघका केन्द्रीय प्रदाधिकारी र केन्द्रीय प्रमुख र शुभेच्छुक संगठनका प्रमुखहरू भेलामा प्रतिनिधिका रूपमा रहनेछन् ।

यथाशीघ्र देउवा पक्षीय नेताहरूको बैठक बोलाई उपरोक्त सबै समितिहरूका संयोजक एवं सदस्यहरूको कार्य विभाजन गरिने नेता बिश्वकर्माले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, एनपी साउद, मोहनबहादुर बस्नेत, डा.प्रकाशशरण महत, दीपक खड्का, सुजाता परियार लगायतको उपस्थिति रहेको थियो ।

(१) शशांक कोइराल (संयोजक)– राष्ट्रिय भेला आयोजक समिति
(२) राजनीतिक प्रस्ताव तयारी समिति
(३) समसामयिक राजनीतिक प्रस्ताव तयारी समिति
(४) सांगठनिक प्रस्ताव तयारी समिति
(५) विधान संशोधन मस्यौदा समिति
(६) नेपाली कांग्रेसको आर्थिक नीति तयारी समिति
(७) प्रचार प्रसार समितिः संयोजक, मिन विश्वकर्मा
(८) आर्थिक समिति
(९) आवाश तथा भोजन व्यवस्थापन समिति
(१०) मञ्च व्यवस्थापन समिति
(११) स्वंयम सेवक परिचालन समिति
(१२) साँस्कृतिक समिति
(१३) सहभागि व्यवस्थापन समिति
(१४) स्वास्थ्य समिति
(१५) शान्ति सुरक्षा तथा प्रशासन समन्वय समिति
(१६) सचिवालय व्यवस्थापन समिति

Published : Saturday, 2026 August 1, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया