एनसेल र बैंकसँग मिलेर स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गर्ने तत्कालीन अध्यक्ष भण्डारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, (सीआईबी)ले ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसूरमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

सीआईबीले भण्डारीलाई बिहीबार पक्राउ गरेको प्रवक्ता एवम् एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दाङको धनौरी–९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. २३ बस्ने भण्डारीलाई सीआईबीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेको जनाएको छ ।

भण्डारीले नेपाल सरकार, दूर सञ्चार प्राधिकरण, काठमाडौंबाट २०७० वैशाख २ गते स्मार्ट टेलिकम प्रा.लि.को नाममा प्रदान गरिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नियमानुसार नवीकरण नगरेको आरोप छ ।

भण्डारीले अनुमतिपत्र नवीकरण नगरेका कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम २०८० वैशाख २ गतेदेखि स्वतः रद्द भएको थियो ।

अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ वमोजिम सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल समेतको सम्पत्ति नेपाल सरकार र नेपाल दूर सञ्चार प्राधिकरणको नाममा आएको थियो ।

तत्कालीन कार्यकारी अध्यक्ष भण्डारीले नेपाल इन्भेष्टमेन्ट मेगा लिमिटेड र एनसेल आजीयाटा लिमिटेडको मिलेमतोमा गैर कानूनी रुपमा लिलाम गरी÷गराएको सीआईबीले जनाएको छ ।

एनसेल आजीयाटा लिमिटेडले प्राप्त गरी नेपाल सरकार÷दूर सञ्चार प्राधिकरणको हक हनन् गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १०३ विपरित हुने गरी गैर कानूनी रुपमा लिलामी गरी ठगी, अपराधिक विश्वासधात तथा संगठित अपराध मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ अनुमति लिई तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष भण्डारीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2026 July 31, 4:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया