अख्तियारद्वारा गाउँपालिकाका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार आयोगले गुप्ताविरुद्ध ३ करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ ८४ पैसा बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा गुप्ताले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको उल्लेख छ ।

अनुसन्धानका क्रममा गुप्ता गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको २०७४ असार २० गतेदेखि २०७९ असार २८ गतेसम्म ३ करोड ५१ लाख ५२ हजार ६२० रुपियाँ आम्दानी गरेको देखिएको थियो ।

सो अवधिमा गुप्ताको खर्च ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपियाँ भएको पाइएको आयोगले जनाएको छ ।

जाँच अवधिमा उनको आम्दानी र खर्च अमिल्दो तथा अस्वाभाविक देखिएकाले गुप्ताका साथै उनका बुवा वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्तालाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उनलाई कैद, बिगो बमोजिम जरिवाना र गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफतको मागदाबी गरेको छ ।

Published : Monday, 2026 July 6, 2:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया