भारतको सहयोगमा पुनर्निर्माण भएका सम्पदाहरूलाई युनेस्काको अवार्ड हस्तान्तरण
काठमाडौं । ललितपुरस्थित जेष्ठ वर्ण महाविहारमा मिति २०८३ असार १८ गते प्रतिष्ठित २०२५ युनेस्को एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत महाविहारलाई प्रदान गरिएको अवार्ड अफ मेरिटको सन्दर्भमा एक हस्तान्तरण समारोहको आयोजना गरिएको छ ।
नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा.राकेश पाण्डेको उपस्थितिमा धातुपट्टिका र आधिकारिक प्रमाणपत्र जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई हस्तान्तरण गेका छन् ।
स्थानीय समुदायका सदस्यहरु, इन्डियन नेशनल ट्रष्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) का प्रतिनिधि, सम्पदा संरक्षणविद्हरू तथा नेपाल सरकारका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
जेष्ठ वर्ण महाविहारको संरक्षण कार्य नेपालको साँस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानको एक हिस्साको रुपमा नेरु. १३.७८ करोड लागतमा अघि बढाइएको थियो । पुनर्निर्माण प्रयासको हिस्सा स्वरुप भारत सरकारले प्राविधिक विशेषज्ञता उपलब्ध गराउनका लागि परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा भारतको इन्ट्याकलाई नियुक्त गरेको थियो । उनीहरूले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र स्थानीय समुदायसँग निकटतम समन्वयमा काम गरेका थिए । यस परियोजनाको उद्घाटन मिति २०८० चैत्र ९ गते महामहिम राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका तत्कालीन शहरी विकासमन्त्री धनबहादुर बुढाद्वारा गरिएको थियो ।
यस संरक्षण परियोजनालाई युनेस्कोले यसको अनुकरणीय समुदाय–केन्द्रित दृष्टिकोण र जटिल ऐतिहासिक नेवारी काष्ठकला तथा पारम्परिक वास्तुकलाको संरक्षणको आवश्यकतासँग आधुनिक भूकम्पीय सुरक्षा प्रबलीकरणलाई सफलतापूर्वक सन्तुलन राखेकोमा मान्यता प्रदान गरेको छ ।
परियोजनाले संरक्षण प्रक्रिया अवधिभर नेवार बौद्ध समुदायको जीवन्त सम्पदा, दैनिक अनुष्ठान र साँस्कृतिक अभ्यासहरू बिना कुनै अवरोध निरन्तर रुपमा सञ्चालन हुने कुरा समेत सुनिश्चित गरेको थियो ।
भारत सरकारले २०७२ सालको गोरखा भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई सहयोग पु¥याउन १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता गरेको थियो । पुनर्निर्माण प्रयासको हिस्सा स्वरुप भारत सरकारले हालसम्म ५०,००० निजी आवास, ७० वटा विद्यालय र एक पुस्तकालय, १२२ वटा स्वास्थ्य संस्था तथा १७ वटा साँस्कृतिक सम्पदा स्थलहरूको पुनर्निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसबाहेक भूकम्प प्रभावित जिल्लाहरूमा अवस्थित थप १४ वटा विद्यालय, ११ वटा स्वास्थ्य संस्था र साँस्कृतिक सम्पदा क्षेत्रका १३ वटा परियोजनाहरु पुनर्निर्माणको विभिन्न चरणमा रहेका छन् जुन भारतीय सहायतामार्फत कार्यान्वयन भइरहेका छन् ।
साँस्कृतिक सम्पदा क्षेत्र अन्तर्गत भारत सरकार नेपालका ८ वटा जिल्लाहरूमा रहेका ३० वटा साँस्कृतिक सम्पदा परियोजनाहरूको संरक्षण तथा पुनस्र्थापनामा संलग्न रहँदै आएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखाका यी परियोजनाहरूमा ऐतिहासिक स्थलहरू, प्राचीन भवनहरू, मन्दिरहरूको पुनर्स्थापना र गुम्बाहरू तथा धर्मशाला भवनहरूको पुनर्निर्माण समावेश छन् । केही उल्लेखनीय परियोजनाहरूमा निम्नानुसार छन् । काठमाडौंको सेतो मच्छिन्द्रनाथ मन्दिर, ललितपुरको कुमारी घर र जेष्ठ वर्ण महाविहार, भक्तपुरको जंगम मठ, र सिन्धुपाल्चोकको तार्के घ्याङ गुम्बा रहेका छन् ।
साँस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको सहयोग भौतिक संरचनाको मर्मतमा मात्र सीमित नभई यसले महत्वपूर्ण सामाजिक–आर्थिक र साँस्कृतिक लाभहरुलाई समेत समेट्छ जसले नेपालको समग्र पुनरुत्थान र दीर्घकालीन हितमा योगदान पु¥याउँछ ।
कार्यक्रममा बोल्दै डा.राकेश पाण्डेले उपभोक्ता समुदाय, सिएलपिआईयु, इन्ट्याक र अन्य सरोकारवालाहरूलाई बधाई दिए । उनले जेष्ठ वर्ण महाविहार परियोजनाको सफलताले भारत र नेपालबीच रहेको गहिरो साँस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई प्रष्ट पारेको बताए । उनले साझा र समृद्ध साँस्कृतिक पहिचानको संरक्षण तथा पुनर्स्थापनामा नेपाल सरकार र नेपाली जनतासँग साझेदारी गर्न भारत सरकार निरन्तर प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा बोल्दै ललितपुरका मेयर चिरीबाबु महर्जनले सहकार्यको भावनाको बारे र जेष्ठ वर्ण महाविहारको संरक्षणमा भारत सरकारको भूमिकाबारे चर्चा गरे । उनले बलियो भारत–नेपाल विकास साझेदारीलाई प्रतिबिम्बित गरेको बताएका छन् । उनले ललितपुरका अन्य विभिन्न साँस्कृतिक सम्पदा स्थलहरूको पुनर्स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार प्रकट गरेका छन् । उनले यस मान्यताका लागि युनेस्कोलाई धन्यवाद दिए । साथै अवार्ड प्राप्त गर्नेहरूलाई उनले बधाई पनि दिएका छन् ।
जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरूले आर्थिक तथा प्राविधिक सहयोग समयमा नै उपलब्ध गराएकोमा भारत सरकारप्रति उनले हार्दिक आभार प्रकट गरेका छन् । उनीहरूले पुनर्स्थापना गरिएको यस महाविहार समुदायको उत्थानशीलता र द्विपक्षीय मित्रताको एउटा गौरवशाली प्रतीकका रुपमा खडा रहेको कुरालाई समेत जोड दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया