नेपालकै दोस्रो पुरानो शिवराज अस्पतालको अवस्था दैनीय छ, त्यस्ता संस्थाहरूप्रति ध्यान जाओस् : कांग्रेस सांसद शाह

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् सांसद अभिषेकप्रताप शाहले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालनमा एकरुपता ल्याउनु पर्ने बताउँदै तिनको गुणस्तर बनाउनु पर्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद शाहले भने, ‘स्वास्थ्य क्षेत्र कुनै पनि राष्ट्रको मेरुदण्ड हो । यसमा गरिने कानूनी व्यवस्थाहरूले देशको आगामी पुस्ताको भविष्य निर्धारण गर्छ ।’

‘माननीय स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताजीले सदनमा प्रस्तुत गर्नुभएको यो संशोधन विधेयकलाई मसिनो गरी अध्ययन गर्दा यसले स्वास्थ्य क्षेत्रको सुधारभन्दा पनि केही गम्भीर आशंका र विचलनहरू उब्जाएको छ,’ सांसद शाहले भने ।

उनले भने, ‘हाम्रो मुख्य उद्देश्य देशका विभिन्न भागमा छरिएर रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालनमा एकरुपता ल्याउनु हो र तीनको गुणस्तर बनाउनु हो । हाल फरक फरक ऐनद्वारा सञ्चालित प्रतिष्ठानहरू नीतिगत र संरचनागत भिन्नता हुँदा समन्वयमा केही जटिलताहरू देखिएका छन् ।’

‘यो संशोधन विधेयक तिनै विसंगतीहरूलाई हटाउँदै एउटा एकीकृत र बलियो राष्ट्रियखाका तयार गर्न ल्याइएको हो,’ कांग्रेस सांसद शाहले भने ।

‘मेरो निर्वाचन क्षेत्रको नेपालको दोस्रो पुरानो शिवराज अस्पतालको अवस्था पनि दैनीय छ,’ सांसद शाहले भने, ‘मैले पटक पटक जानकारी पनि गराउँदै आएको त्यस्ता संस्थाहरूप्रति पनि ध्यान जाओस् सरकारको ।’

‘यस विधेयकलाई अझै बढि ब्यवहारिक र जनुमखी बनाउन स्वास्थ्य तथा खाद्य मन्त्रालयको तर्फबाट म सदनसमक्ष देहायका सुधारका मुख्य सुझाव तथा प्रतिवद्धताहरू पेश गर्न चाहन्छु,’ सांसद शाहले भने ।

उनले भने, ‘प्रतिष्ठान सञ्चालनमा एकरुपता र छायाँ ऐनको अवधारणा, विकेन्द्रीकरण र दुर्गममा पहुँच, इक्वीटी एण्ड हेल्थ एजुकेशन, कर्णाली र मधेश प्रदेश जस्ता प्रदेशमा भएका डिस्प्यारेटीलाई कसरी कन्ट्रोल गर्ने ? मन्त्रीजीलाई बढि नै थाहा छ । उहाँ पनि मधेश प्रदेशलाई नै प्रतिनिधित्व गर्दै हुनुहुन्छ । प्राज्ञिक गुणस्तर र अनुसन्धानमा जोड, पदाधिकारी नियुक्तिमा मेरोटोक्रेसी, योग्यता प्रणाली, खाद्य सुरक्षा र जनसेवाको अन्तर सम्बन्ध, स्वास्थ्य क्षेत्र दलीय राजनीतिभन्दा माथिको साझा सरोकारको विषय हो ।’

‘यो संशोधन विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्न सम्पूर्ण माननीय सदस्यहरूलाई आह्वान गर्दछु,’ सांसद शाहले भने ।

Published : Sunday, 2026 June 28, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया