राप्तीमा बालबालिकाको भावनामाथि खेलवाड, विद्यार्थी रोइरहेका, अँगालो हालिरहेका दृश्यहरू बाहिरिएपछि आलोचना
मसुरिया । दाङको राप्ती गाउँपालिकामा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको भनिएको ‘उत्प्रेरणा जगाउने कार्यक्रम’ विवादित बनेको छ ।
कार्यक्रमका क्रममा विद्यालयका विद्यार्थी भावुक भएर रोइरहेका, सार्वजनिक रूपमा अँगालो हालिरहेका तथा ती दृश्यहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत व्यापक रूपमा प्रचार–प्रसार गरिएका तस्वीर तथा भिडियो सार्वजनिक भएपछि यसको औचित्य, प्रभावकारिता तथा बाल संरक्षणसम्बन्धी पक्षमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।
बालअधिकार तथा बाल संरक्षणको क्षेत्रमा क्रियाशील संस्था नेपाल गुडवीभ फाउण्डेशन र भिजिनरी भ्वाइस नेपालले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । दुवै संस्थाले सार्वजनिक भएका दृश्यहरूले बाल संरक्षण, बालअधिकार, बालमैत्री शिक्षा तथा बालबालिकाको मनोसामाजिक सुरक्षासम्बन्धी विषयमा गम्भीर चासो र बहस आवश्यक रहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन–२०७५, बालबालिकासम्बन्धी नियमावली–२०७८, बालमैत्री स्थानीय शासनसम्बन्धी राष्ट्रिय रूपरेखा तथा संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धिले प्रत्येक बालबालिकाको सर्वोत्तम हित, सम्मान, गरिमा, गोपनीयता, सुरक्षित वातावरणमा हुर्कने अधिकार तथा मानसिक स्वास्थ्यको संरक्षण सुनिश्चित गरेको स्मरण गराइएको छ । विद्यालयमा सञ्चालन हुने कुनै पनि कार्यक्रम बालमैत्री, सुरक्षित, सम्मानजनक तथा मनोसामाजिक रूपमा संवेदनशील हुनुपर्ने कानुनी र नैतिक दायित्व रहेको उनीहरूको भनाइ छ ।
दुवै संस्थाले शैक्षिक सुधारको उद्देश्य सकारात्मक भए पनि त्यसका लागि अपनाइने विधि, प्रक्रिया र अभ्यासहरू “बालबालिकाको सर्वोत्तम हित” तथा “डु नो हार्म” अर्थात् “हानी नपु¥याउने” सिद्धान्तअनुरूप हुनुपर्नेमा जोड दिएका छन् । बालबालिकाको भावनात्मक अवस्था प्रभावित हुन सक्ने गतिविधि सञ्चालन गर्दा उच्च संवेदनशीलता अपनाउनुपर्ने तथा उनीहरूको तस्वीर वा भिडियो सार्वजनिक गर्दा गोपनीयता, गरिमा र सर्वोत्तम हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
संस्थाहरूले सम्बन्धित स्थानीय सरकार, विद्यालय, कार्यक्रम आयोजक तथा सरोकारवाला निकायलाई घटनाको आवश्यक समीक्षा गर्दै बाल संरक्षणसम्बन्धी कानूनी व्यवस्था, बाल सुरक्षा मापदण्ड र आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेका छन् । आगामी दिनमा विद्यालयमा सञ्चालन हुने सबै कार्यक्रमहरू बालबालिकाको अधिकार, सुरक्षा, गोपनीयता र मनोसामाजिक हितलाई केन्द्रमा राखेर सञ्चालन गर्न अनुरोध गरेका छन् ।
यता स्थानीय अभिभावक तथा सरोकारवालाहरूले भने शैक्षिक गुणस्तर सुधारका नाममा वर्षेनि ठूलो बजेट खर्च भए पनि वास्तविक सिकाइ उपलब्धि र नतिजामा अपेक्षित सुधार नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । हालै सार्वजनिक विवरणअनुसार राप्ती गाउँपालिकाका सामुदायिक विद्यालयहरूको औसत नतिजा मात्र रहेको बताइएको छ ।
अभिभावकहरूको प्रश्न छ, “यदि शैक्षिक सुधारकै लागि कार्यक्रम सञ्चालन गरिएको हो भने त्यसको प्रभाव विद्यार्थीको सिकाइ उपलब्धि, परीक्षा नतिजा, शिक्षकको क्षमता विकास र विद्यालय व्यवस्थापनमा देखिनुपर्थ्यो । भावनात्मक दृश्य सिर्जना गरेर मात्रै शैक्षिक गुणस्तर बढ्छ भन्ने आधार के हो ?”
शिक्षाविद्हरूले पनि प्रेरणा र उत्प्रेरणा शिक्षाको महत्वपूर्ण पक्ष भए पनि त्यसको सफलता आँसु, भावुकता वा क्षणिक प्रतिक्रियाबाट होइन, सिकाइ उपलब्धि, शैक्षिक वातावरण, शिक्षकको दक्षता र मापनयोग्य नतिजाबाट मूल्याङ्कन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
स्थानीय नागरिकहरूले सम्बन्धित निकायसँग कार्यक्रमको उद्देश्य, खर्च, प्रभावकारिता र प्राप्त उपलब्धिबारे सार्वजनिक समीक्षा गर्न माग गरेका छन् । उनीहरूको भनाइमा शैक्षिक गुणस्तर सुधारका नाममा मूल समस्या ओझेलमा पारेर भावनात्मक प्रदर्शनलाई प्राथमिकता दिइएको देखिएको छ ।
दुवै संस्थाले शैक्षिक गुणस्तर सुधारका लागि भावनात्मक प्रभाव सिर्जना गर्ने गतिविधिभन्दा गुणस्तरीय शिक्षण–सिकाइ, शिक्षकको पेशागत क्षमता विकास, सुरक्षित तथा बालमैत्री विद्यालय वातावरण, प्रभावकारी विद्यालय व्यवस्थापन, सकारात्मक अनुशासन र मनोसामाजिक सहयोगमा आधारित कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
शिक्षाको उद्देश्य विद्यार्थीलाई भावनात्मक रूपमा विचलित बनाउनु होइन, ज्ञान, सीप, अनुशासन, आत्मविश्वास र सिर्जनशीलताले सम्पन्न बनाउनु हो । विद्यालय सुधारको मापन आँसु, अँगालो वा भाइरल दृश्यबाट होइन, विद्यार्थीको सिकाइ उपलब्धि, शिक्षकको क्षमता, विद्यालयको शैक्षिक वातावरण र प्राप्त नतिजाबाट गरिनुपर्छ ।
राप्ती गाउँपालिकाका सामुदायिक विद्यालयहरूको औसत नतिजामा सीमित रहेको अवस्थामा शैक्षिक गुणस्तर सुधारका नाममा सञ्चालन गरिएका कार्यक्रमहरूको वास्तविक प्रभाव, औचित्य र उपलब्धिबारे प्रश्न उठ्नु स्वाभाविक देखिन्छ । करोडौं रुपियाँ खर्च हुँदासमेत अपेक्षित शैक्षिक उपलब्धि हासिल हुन नसक्नु स्वयंमा गम्भीर समीक्षा, उत्तरदायित्व र जवाफदेहिताको विषय बनेको छ ।
शिक्षामा सुधार भावनात्मक प्रदर्शनबाट होइन, गुणस्तरीय सिकाइ, सक्षम शिक्षक, उत्तरदायी विद्यालय व्यवस्थापन, बालमैत्री वातावरण र मापनयोग्य नतिजाबाट प्रमाणित हुन्छ । त्यसैले आज आवश्यकता प्रचारमुखी दृश्य र क्षणिक भावनात्मक उत्तेजनाको होइन, तथ्यमा आधारित मूल्याङ्कन, परिणाममुखी योजना र उत्तरदायी कार्यान्वयनको हो । आखिर नागरिकले खोजेको पनि आँसुका तस्बिर होइनन्, आफ्ना बालबालिकाको भविष्य उज्यालो बनाउने गुणस्तरीय शिक्षा र सुधारिएको शैक्षिक नतिजा नै हो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बेलाबेला विवादमा पर्दै आएका छन् । उनका गतिविधि र कार्यक्रमहरू आलोचित हुने गरेको भन्दै राप्ती गाउँपालिकाका उपभोक्ताहरू दिक्क भएका छन् ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया