महामन्त्रीमा विपिनलाई महामन्त्रीका चार आकांक्षीको समर्थन, चारै जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका आकांक्षी चार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै महामन्त्रीमा विपिनकुमार आचार्यलाई समर्थन गरेका छन् ।

शुक्रबार भरतपुरमा महामन्त्री पदको दाबेदारी प्रस्तुत गरेका प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र जगदीश खरेल (ललितपुर)ले विपिनकुमार आचार्यलाई समर्थन गरेका हुन् । उनीहरूले विपिनकुमार आचार्यलाई महामन्त्री पदमा मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।

महाधिवेशनमा मतदान हुनु ठीक अघि सभापति रवि लामिछानेले विपिनकुमार आचार्यको नाममा सर्वसम्मत गराउने प्रयास गरेका थिए ।

सर्वसम्मतको प्रयास असफल भएपछि सभापति लामिछानेले क्रमशः आकांक्षीहरूलाई पछि हटाएका हुन् । रास्वपाका पूर्व उपसभापति डिपी अर्याल निकट रहेका कबिन्द्र बुर्लाकोटी र गणेश पराजुली पनि विपिनकुमार आचार्यलाई समर्थन गर्दै पछि हटेका हुन् ।

संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरूले विपिनकुमार आचार्यलाई आफूहरूको समर्थन रहेको बताएका छन् ।

‘अहिले हामी सबै जना; कविन्द्र बुर्लाकोटी, म गणेश पराजुली, प्रमोद न्यौपाने, जगदीश खरेल र शिशिर खनाल हामी सबै जनाले विपिनलाई समर्थन गर्ने निर्णय गरेका छौं । सबै महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गर्न चाहन्छौं यहाँहरूले अप्ठ्यारो गरी निर्णय गर्नुपर्ने अवस्था नरहेको र हामी सबैको समर्थन विपिनलाई रहेको र उहाँलाई भोट हाल्न अनुरोध गर्न चाहन्छौं,’ पत्रकार सम्मेलनमा पराजुलीले भने ।

महामन्त्रीका आकांक्षी परराष्ट्रमन्त्री शिशिर खनालले भने यसअघि नै उम्मेदवारी फिर्ता लिएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै विपिनकुमार आचार्यले आफूलाई समर्थन गर्ने निर्णय गरेर प्रतिस्पर्धाभन्दा अगाडि सहकार्य हुन्छ भन्ने प्रमाणित गरिदिएको बताएका छन् ।

Published : Friday, 2026 June 26, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया