सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका पौडेललाई छुटाउन एमालेले सरकारविरुद्ध प्रतिवाद गर्ने

काठमाडौं । एमालेले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानूनी रहेको ठहर गर्दै त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

मंगलबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा बसेको केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष पौडेलको गिरफ्तारीको सशक्त रुपमा प्रतिवाद गर्ने निर्णय भएको महासचिव शंकर पोखरेलले बताएका छन् ।

पोखरेलले भनेको छ, ‘गैरकानूनी गिरफ्तारीको निन्दा, बिनाकुनै वस्तुपरक तथ्य र प्रमाण, केवल राजनीतिक प्रतिशोध साध्ने कुत्सित मनसायका साथ सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको गैरकानूनी गिरफ्तारीको पार्टीले राजनीतिक र कानूनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय भएको छ ।’

‘अदालती आदेशप्रति असहमति, राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित यस घटनामा विशेष अदालतले पूर्वापक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको ठहर गर्दछ,’ एमालेको निर्णयमा भनिएको छ ।

एमालेले उपाध्यक्ष पौडेलको विनासर्त रिहाइको माग गरेको छ । ‘बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ,’ महासचिव पोखरेलले भनेका छन् ।

‘भण्डाफोर अभियान चलाउने निर्णय भएको छ । राज्य संयन्त्रको यस प्रकारको निरङ्कुश, प्रतिशोधपूर्ण र विभेदकारी कदमका विरुद्ध देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्न बैठकले सम्पूर्ण पार्टीपंक्ति एवं न्यायप्रेमी जनसमुदायलाई हार्दिक आह्वान गर्दछ,’ महासचिव पोखरेल भनेका छन् ।

Published : Tuesday, 2026 June 23, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया