राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ ।

राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी चुनावलाई केन्द्रित गरेर घाटा बजेट ल्याएको भनेर असन्तुष्टि जनाएका छन् । अध्यक्ष विष्टले बजेट त ल्याएका छन् । घाटा बजेट भएका कारण कार्यान्वयन चुनौतीपूर्ण छ ।

राप्ती गाउँपालिकाको आन्तरिक आम्दानी वृद्धिको विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ । आम्दानीको श्रोतहरूलाई अध्यक्ष विष्टले सुनिश्चित गराउन नसकेको आरोप छ ।

राप्ती गाउँपालिकाका पूर्व अध्यक्ष नुमानन्द सुबेदीको कार्यकालबाट सञ्चित रहेको बजेटसमेत सक्ने अवस्थासम्म पुगेको छ । सञ्चित बजेटको ढुकुटी समेत समाप्त हुन थालेपछि अध्यक्ष विष्टको नेतृत्वमाथि प्रश्न उठ्नु अस्वाभाविक होइन ।

आन्तरिक आम्दानी बढाउने, स्थानीय स्रोतको दायरा विस्तार गर्ने र गाउँपालिकालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनेतर्फ ठोस पहल हुनुपर्नेमा त्यसतर्फ अपेक्षित प्रगति नदेखिएको केही जनप्रतिनिधिहरूले नै स्वीकार गरेका छन् ।

राप्ती गाउँपालिकाको आम्दानी बढाउनेभन्दा पनि घाटा बजेटको चर्चा गरेर जनतालाई अलमल्याउने प्रयास भइरहेको भन्दै असन्तुष्टि बढेका छन् ।

ठूला योजना, भाषण र महत्वाकांक्षी घोषणाले मात्र विकास हुँदैन । स्थानीय सरकारको सफलताको वास्तविक मापन राजस्व वृद्धि, स्रोत परिचालन र वित्तीय अनुशासनबाट हुन्छ । यदि आन्तरिक आम्दानी बढाउन प्रभावकारी कदम चालिएको भए घाटा बजेटको दबाब यति ठूलो हुने थिएन ।

त्यसैले विगत र वर्तमान दुवै नेतृत्वले राजस्व वृद्धिका लागि गरेका प्रयास, उपलब्धि र कमजोरीबारे तथ्य, तथ्याङ्क र प्रमाणका आधारमा जनतालाई स्पष्ट जवाफ दिनु आवश्यक छ ।

Published : Sunday, 2026 June 21, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया