आईजीपी कार्की शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रममा सहभागी

बुटवल । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको उपस्थितिमा लुम्बिनी साँस्कृतिक नगरपालिका–१० महिलावारस्थित लुम्बिनी विकास कोष परिसर, विश्व शान्ति दीप अगाडि सोमबार आयोजित शान्ति पदयात्रा तथा आत्महत्या, लागुऔषध दुर्व्यसन, सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित शान्ति पदयात्रा लिटल बुद्धदेखि सुरू भई अन्तर्राष्ट्रिय सभाहलमा पुगेर सम्पन्न भएको छ । पदयात्रामा आईजीपी कार्की, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना कार्की, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

शान्ति पदयात्रा पश्चात अन्तर्राष्ट्रिय सभाहलमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरेका छन् ।

आईजीपी कार्कीले पदयात्राले सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज एवम् सरोकारवाला सबै पक्षहरू एकआपसमा समन्वय गर्दै एकअर्काको सारथीको रूपमा काम गर्न सकिने बताए ।

समाजमा देखा परेका लागुऔषध दुर्व्यसनी, आत्महत्या, सडक दुर्घटना लगायतका अन्य गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नभएको कार्कीले बताए । कार्कीले शान्तिपूर्ण समाज सिर्जना गर्नको लागि सबै सरोकारवाला पक्षहरूको सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको बताएका छन् ।

सबैको सामूहिक प्रतिबद्धताको माध्यमले सुरक्षाका चुनौतीहरू, शान्तिका चुनौतीहरू एवम् विकासका चुनौतीहरूलाई परास्त गर्दै आगामी दिनमा सुनौलो भविष्य कोर्न सक्षम एवम् सामर्थ्य हुने उनले बताए ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले आफ्नो शुभकामना सहितको मन्तव्य व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्रबहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्तर्गत बुटवलस्थित प्रहरी तालिम केन्द्रमा शान्ति पदयात्रा सञ्चालन गरेको थियो ।

Published : Monday, 2026 June 15, 2:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया