नयाँ र पुरानो पुस्ताको नाममा कांग्रेसलाई विभाजित गर्नु हुँदैन, सबैको योगदान छ : रामहरि खतिवडा

विराटनगर । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नयाँ पुस्ता र पुरानो पुस्ताको नाममा कांग्रेसलाई विभाजित गर्न नहुने बताएका छन् ।

आइतबार विराटनगरमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षीय नेताहरुको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता खतिवडाले बृहत पार्टी एकता गरेर जानुपर्ने बताए । उनले कांग्रेसको संस्थापन पक्षले सबैलाई मिलाउनुपर्ने बताए ।

नेता खतिवडाले भने, ‘पार्टी एकताका लागि एउटै छातामा बसेर काम गर्नुपर्ने बेलामा एउटा कांग्रेसले अर्को कांग्रेसलाई गाली गर्ने, अपमान गर्ने कार्य भएको छ । कांग्रेस कमजोर भएको बेलामा राष्ट्रियता कमजोर बनेको छ ।’

‘कांग्रेस नयाँ पुस्ता र पुरानो पुस्ताको नाममा विभाजित हुनु हुँदैन । सबैका लागि कांग्रेस समान हुनुपर्छ । १५औँ महाधिवेशन एकताबद्ध भएर समयमा पूरा गर्नुपर्छ,’ उनले भने ।

‘संस्थापन भनिएको कांग्रेसको नेतृत्वले सबैलाई मिलाएर लैजान सकेन भने स्थानीय तह र प्रदेश सभा निर्वाचनमा कांग्रेसको पराजय हुने निश्चित छ,’ नेता खतिवडाले भने ।

Published : Sunday, 2026 June 14, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया