दाङमा ट्याङ्कर र कार ठोक्किएर दुर्घटना, पाँच जना घाइते

लमही । दाङमा ट्याङ्कर र कार एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

लमही नगरपालिका वडा नं. ९ च्याउखोला नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दूध बोकेको ट्याङ्कर र कार एकआपसमा ठोक्किएका हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ क ५४९८ नम्बरको ट्याङ्कर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ९ च ४७९४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा कार चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बाँकेतर्फ पठाइएको छ ।

ट्याङ्कर चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ बस्ने ३४ वर्षीय शिवनारायण थारुलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा कार चालक दाङको शान्तिनगर गाउँपालिका वडा नं. ६ बस्ने २५ वर्षीय दीपेश भण्डारी, कारमा सवार सुर्खेतको गुर्बाकोट नगरपालिका वडा न.. ४ बस्ने २७ वर्षीया गीता बि.क., गुर्बाकोट नगरपालिका वडा नं. १ बस्ने ६१ वर्षीय मादले बि.क., दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बस्ने २५ वर्षीय कपिल के.सी. र बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० बस्ने ३२ वर्षीया कौसिला बि.क. रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2026 June 10, 4:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया