दाङमा भारतीयलाई नागरिकता दिन सिफारिस दिने वडाध्यक्षसहित ४ जना पक्राउ

लमही । भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस गरेको भन्दै दाङको राजपुर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रामेश्वर अहिरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष अहिर रहेका छन् । अहिरले भारतीय नागरिक आलम जोल्हा आफ्नो वडाको स्थानीय बासिन्दा भएको भनी सिफारिस प्रदान गरेर नागरिकता बनाउन सहयोग गरेको आरोप प्रहरीले लगाएको छ ।

भारतीय नागरिकलाई नेपाली नागरिकता दिने प्रकरणमा इलाका प्रहरी कार्यालय, गढवाले वडाध्यक्ष अहिरसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा, राजपुर गाउँपालिका–४ का वडासचिव राजकुमार कहार तथा कार्यालय सहयोगी मीना चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध नागरिकतासम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

Published : Monday, 2026 June 8, 11:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया