लुम्बिनीमा सर्वोच्च अदालतको मानहानी हुने गरी मन्त्री नियुक्त, भण्डारीलाललाई बखास्थ गर्न माग
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले लुम्बिनी प्रदेश सरकारका भण्डारीलाल अहिरलाई मन्त्री पदबाट बर्खास्थ गर्न माग गरेको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गरेर जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले सर्वोच्च अदालतबाट जसपा नेपालले मान्यता पाइसकेको अवस्थामा अहिरलाई संविधान, विधि र कानून राज्यको उपहास गरेर मन्त्री बनाइएको भन्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यका साथै एमाले र नेपाली कांग्रेसको आलोचना गरेका छन् ।
मुख्यमन्त्री आचार्यले सोमबार नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका छन् । भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जसपा, नेपालले अदालतको फैसला लगत्तै कानूनी स्थितिको आधिकारिक जानकारी गराउँदागराउँदै लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता गठबन्धनका मुख्यमन्त्रीले न्यूनतम राजनीतिक नैतिकता र लोकतान्त्रिक मूल्य–मान्यताको ख्यालै नगरी आज सोमबार जसपा नेपालको नाममा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराएका छन् ।’
‘यसरी मन्त्री नियुक्त गर्नु कानूनी राज्यको उपहास मात्र होइन, लोकतन्त्रमाथिको नाड्गो प्रहार र बलमिच्याइँको पराकाष्ठा हो,’ जसपा नेपालका प्रवक्ता सुमनले भने, ‘मुख्यमन्त्रीको यो हर्कत घोर अलोकतान्त्रिक, असंवैधानिक र राजनीतिक रूपमा अत्यन्तै निन्दनीय छ । हामी यसको कडा शब्दमा भर्त्सना गर्दछौं ।’
प्रवक्ता सुमनले विज्ञप्तिमार्फत भने, ‘भण्डारीलाल अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गरियोस् । हाम्रो यस न्यायसंगत र कानूनी मागलाई नजरअन्दाज गरिएमा सम्मानित अदालतको मानहानी गर्ने तथा बलमिच्याइँमा हुने लुम्बिनी प्रदेश प्रमुख, मुख्यमन्त्री र एमाले–कांग्रेस सत्ता गठबन्धनविरुद्ध जसपा नेपाल सशक्त कानूनी प्रक्रियामा जान बाध्य हुने जानकारी गराउँदछौं ।’
‘सम्मानित सर्वोच्च अदालतको फैसलाले राजनीतिक जालझेलबाट खडा गरिएको कथित जसपालाई अवैध ठहर गर्दै जनता समाजवादी पार्टी, नेपालको वैधानिकता प्रदान गरिसकेको तथ्य सर्वविदितै छ,’ प्रवक्ता सुमनले भने ।
‘अदालतको यस फैसलासँगै दल विभाजनको गैरकानूनी प्रपञ्च स्वतः खारेज भएको छभने सम्पूर्ण जनप्रतिनिधि र नेता–कार्यकर्ताहरू कानूनी रूपमा जसपा, नेपालकै मातहत र दलीय अनुशासनमा बाँधिएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक र कानूनी वस्तुस्थितिको धज्जी उडाउँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालेको अनैतिक र स्वेच्छाचारी कदमप्रति हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ ।’

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया