देउवा, ओली, प्रचण्डहरू पनि आफ्नो समयको युवा नै हुन्, पावरमा आइयो भनेर पेल्नु हुँदैन : सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारमा पुग्दैमा विपक्षी दलहरूलाई निमिट्यान्न पार्ने बाटोमा लाग्न नहुने चेतावनी दिएकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू सत्तामा आएँ भन्दैमा अर्को पक्षलाई पूरै नास्तनामुद गराउने सोंच राख्न नहुने बताइन् । कार्कीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूलाई विगतको इतिहास हेरेर अघि बढ्न सुझाव दिएकी छिन् ।

भर्खरै सत्तामा पुगेका नवयुवाहरूले पुराना कुरा र इतिहासलाई मनन गरेर मात्रै मुलुक चलाउनुपर्ने उनले बताएकी छिन् । सत्तारुढ दलका युवा नेताहरूले आफूहरू सधैँ युवा नै रहँदैनौँ भन्ने हेक्का राख्नुपर्ने कार्कीले बताएकी छिन् ।

सत्तामा पुगेका ३५/३७ वर्षका प्रधानमन्त्री र नेताहरूले पनि एक दिन पुरानै अवस्थामा पुग्नुपर्ने यथार्थ नभुल्न उनले स्मरण गराइन् । हिजोका दिनमा केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डहरू पनि आफ्नो समयको आन्दोलनमा युवा नै रहेको उदाहरण दिँदै उनले अनुभव बिस्तारै सिक्दै जाने कुरा भएको बताइन् । उनले भनिन्, ‘आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तनामुद गराउँछु भन्नेतिर लाग्नु हुँदैन ।’

Published : Friday, 2026 June 5, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया