९२ लाख भ्रष्टाचार मुद्दामा सफाइ पाएका कँडेल रास्वपाको नगर सभापतिमा सर्वसम्मत

वीरेन्द्रनगर । कर्णाली कोल्ड चेन लजिस्टिकको ९२ लाख ४३ हजार २९८ रुपियाँ भ्रष्टाचारको मुद्दामा सफाइ पाएका लक्ष्मण कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वीरेन्द्र नगर अधिवेशनबाट नगर सभापतिमा सर्वसम्मत बनेका छन् ।

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न रास्वपाको नगर अधिवेशनले कँडेलको नेतृत्वका सर्वसम्मत कार्यसमिति चयन गरेको निर्वाचन समितिले जनाएको छ । उद्योग व्यवसायी समेत रहेका कँडेल नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका हुन् ।

२० वर्ष पुरानो कांग्रेसको राजनीति परित्याग गरेर कँडेल केही समय अगाडि रास्वपाका महामन्त्री भुपदेव शाहमार्फत रास्वपामा प्रवेश गरेका थिए । रास्वपामा प्रवेश गरेसँगै कँडेलले छलाङ मारेर नगर सभापति बनेका छन् ।

यसअघि, कँडेलसहित १६ जना अभियुक्तले भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौंबाट सफाइ पाएका थिए । कँडेल सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्ष समेत थिए ।

कर्णाली कोल्ड चेन निर्माणको ठेक्कापट्टामा रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ साउन २०८० मा कँडेलसहित १६ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विशेष अदालतका न्यायाधीशद्वय तेजनारायणसिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा अख्तियारले प्रतिवादी बनाएका अध्यक्ष कँडेलसहित १६ जनालाई सफाइ दिएको थियो । कँडेलसहित १६ जनाले सफाइ पाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसालाविरुद्ध सर्वोच्च अदालतमा पुनारावेदन गरेको छ । विशेष अदालतको सफाइ दिने फैसला बदरको माग गरेर अख्तियार सर्वोच्च अदालत पुगेको थियो ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माणको काममा वास्तविक कामभन्दा बढी भुक्तानी भएको उजुरीपछिको अनुसन्धानमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार विशेष अदालत पुगेको थियो ।

अख्तियारले तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, गणेश भण्डारी, हरिप्रसाद पण्डित, हरिबहादुर थापा, भक्तिराम शर्मा, गुरुप्रसाद अधिकारी, उत्तमकुमार बस्नेत, खिमलाल वली, सुरेशकुमार थापा, उषा ठाडा, प्रकाश अधिकारी, सुवर्णराज भारती, कलाधर उपाध्याय, लक्ष्मण कँडेल, प्रवल शाही र महेश शर्मालाई प्रतिवादी बनाएको थियो । उनीहरू सबैले सफाइ पाएका छन् ।

तत्कालीन सव–इञ्जिनियर गणेश भण्डारीविरुद्व १६ लाख २४ हजा ८८१ रुपियाँ, तत्कालीन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित र लेखा अधिकृत हरिबहादुर थापा, तत्कालीन निर्देशक भक्तिराम शर्मा, योजना शाखामा प्राविधिक सहायक गुरुप्रसाद अधिकारी र लेखा अधिकृत उत्तमकुमार बस्नेतविरुद्व तीन लाख २५ हजार ५६७ रुपियाँ भ्रष्टाचार आरोप लागेको थियो ।

लेखा अधिकृत खिमलाल वलीविरुद्व तीन लाख ५३ हजार २०४, कृषि अधिकृत सुरेशकुमार थापा र सहलेखापाल उषा ठाडाविरुद्व सात लाख २६ हजार १८१, सबइञ्जिनियर सुवर्ण राज भारती, इन्जिनियर महेश शर्माविरुद्वविरुद्व ३५ लाख ३६ हजार ६८ रुपियाँ बिगो दाबी गरिएको थियो ।

कर्णाली कोल्ड चेन लजिस्टिकका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल र प्रवल शाहीविरुद्व ९२ लाख ४३ हजार २९८ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

तत्कालीन इञ्जिनियर महेश शर्माविरुद्व ३५ लाख ३६ हजार ६८ रुपियाँ भ्रष्टाचार रकमको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको थियो ।

Published : Wednesday, 2026 June 3, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया