नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीद्वारा प्रहरीलाई सम्पत्ति शुद्धीकरण लगायतमा अनुशिक्षण तालिम प्रदान
विराटनगर । नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी अनुशिक्षण तालिम भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलको प्रमुख आतिथ्यता तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशिष्ट आतिथ्यतामा मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा तालिमको समुद्घाटन भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलले वित्तीय प्रणालीको पारदर्शीता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति उत्पादन गरी वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको उनले बताए ।
प्रहरी महानिरीक्षक कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तर निकाय समन्वय अपरिहार्य रहेको बताए । प्रहरीले हुण्डी कारोबार, संगठित अपराध, मानव बेचबिखन तथा लागूऔषध ओसारपसार, आपराधिक लाभ, ठगी जस्ता अपराधहरूको सफल अनुसन्धान गर्न प्रमाण संकलन, वित्तीय विश्लेषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय तथा सहकार्य गर्दै आइरहेको कार्कीले बताए ।
प्रहरी महानिरीक्षक कार्कीले सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानीसँग सम्बन्धित अपराध नियन्त्रण राष्ट्रिय सुरक्षा र आर्थिक सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले नेपाल प्रहरीले यस क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्दै आएको बताए । तालिमले सहभागी प्रहरी अधिकृतहरूको सैद्धान्तिक र व्यवहारिक ज्ञानमा अभिवृद्धि भई भविष्यमा यस्ता अपराधको प्रभावकारी नियन्त्रण तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले तालिमको महत्व सम्बन्धी जानकारी दिएका छन् । कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले स्वागत मन्तव्य तथा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापा, नेपाल प्रहरी प्रदेश कार्यालय, धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुँयाल, नेपाल राष्ट्र बैंकका निर्देशक शरणकुमार अधिकारी लगायतका पदाधिकारीहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुखहरू, प्रहरी अधिकृतहरू लगायत प्रशिक्षार्थीहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आम विनाशका हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानूनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण प्रदान गरिनेछ । वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्नेछ । ५ कार्य दिन अवधिको उक्त तालिममा कोशी प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाईका अनुसन्धान शाखामा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया