नक्सालमा कार्यालय खोली शंकास्पद गतिविधि गर्ने २ चिनियाँ नागरिक पक्राउ

काठमाडौं । शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

प्रहरीको विज्ञप्तिअनुसार पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन शुआन्गुई रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले काठमाडौं महानगरपालिका–१ नक्साल, नारायणचौर क्षेत्रमा चिनियाँ नागरिक भिजिट भिषामा नेपाल आई भिषाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधि गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताएका छन् ।

पक्राउ परेकाहरूले नक्साल नारायणचौरमा रहेको आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रूपमा विदेशी मोडल तथा युवतीको लाइभ हब एपमार्फत् अकाउन्ट खोली विदेशी र भारतीय नागरिकलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने तथा शङ्कास्पद गतिविधि गर्ने गरेको प्रहरीले जनाएको छ ।

ती दुई चिनियाँ नागरिकहरूलाई नक्सालबाट पक्राउ गरी अध्यागमन ऐनअन्तर्गतको कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थान पठाइएको एसपी कार्कीले बताए ।

Published : Wednesday, 2026 June 3, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया