रास्वपाका सांसद र मन्त्रीहरू देशकै विरूद्ध प्रमाण खोज्न हिँडिरहेका छन् : सांसद खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदहरूप्रति लक्षित गरेर केही मानिसहरू देशकै विरूद्ध प्रमाण खोज्न हिँडिरहेको बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले आफ्ना नेताले जे भन्यो त्यो सही साबित गर्न ती मानिसहरू देशकै विरूद्ध प्रमाण खोज्न हिँडिरहेको बताइन् ।

सांसद ओलीले भनिन्, ‘संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीहरूले सावधानी, जिम्मेवारीबोध र कूटनीतिक परिपक्वतासहित भाषा प्रयोग गर्नु अनिवार्य हुन्छ, किनभने यसले देशको अन्तर्राष्ट्रिय छवि र हितलाई हानि गर्न सक्छ ।’

‘आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यो सही साबित गर्न देशकै विरूद्ध प्रमाण खोज्न दौडिरहेका छन्,’ राप्रपा सांसद ओलीले भनिन् ।

प्रधानमन्त्री वालेन शाह (बालेन)ले प्रतिनिधिसभा बैठकको रोस्ट्रमबाट ‘नेपालले भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको बचाउमा रास्वपाका केही सांसद तथा मन्त्रीहरू देखिएका छन् ।

‘नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन,’ सांसद ओलीले भनिन्, ‘यो सदनका सम्मानित माननीयज्यूहरूलाई त्यस किसिमका गतिविधि नगर्न आग्रह गर्न चाहन्छु ।’

‘नेता पूजा गर्ने, व्यक्ति पूजा गर्ने यति खतरनाक हुन्छ, एक दिन मानिसले आफ्नो नेताको बचाउ गर्दै आफ्नो देशको पक्ष छाडेको यहाँहरूलाई स्मरण पनि रहँदैन,’ उनले भनिन् ।

‘यस सभाभित्रका अभिव्यक्तिहरूलाई प्राविधिक रूपमा सच्याउन वा पुनर्व्याख्या गर्न त सकिएला तर, मेरो चिन्ता अन्तर्राष्ट्रिय मेनस्ट्रिम मिडियामा गइसकेका सन्देशप्रति पनि छ,’ उनले भनिन्, ‘प्रतिध्वनिहरू निर्माण भइसकेका छन् । हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा गइसकेका सन्देशलाई सच्याउन वा हटाउन सक्दैनौं ।’

‘एक पटक कुनै सन्देश अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा गइसकेपछि त्यो सन्देश अपरिवर्तनीय र कूटनीतिक छापका रूपमा स्थापित हुन्छ, जसलाई न मेटाउन सकिन्छ, न फिर्ता लिन सकिन्छ, न त सहज रूपमा सच्याउन सकिन्छ,’ उनले भनिन् ।

सांसद ओलीले सभामुख डोलप्रसाद अर्यालसँग प्रतिपक्षीहरूलाई पेलेर सदन बैठकमा सञ्चालन गर्नुभन्दा सबै दलका शीर्ष नेताहरूलाई डाकेर छलफल राख्न आग्रह गरेकी छिन् ।

‘हामी सबैले यो मुद्दालाई राष्ट्रिय गरिमासँग जोडेर हेरौं, र प्रधानमन्त्रीज्यूलाई पनि आफ्नो अभिव्यक्ति सच्याउन र यसमा स्पष्टीकरण दिन हामी अनुरोध गर्न चाहन्छौं,’ ओलीले भनिन् ।

Published : Tuesday, 2026 June 2, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया