काठमाडौं उपत्यकाका १० उत्कृष्ट निजी माध्यमिक विद्यालय, को को छन् सूचीमा ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै देशभरका हजारौँ विद्यार्थी गुणस्तरीय शिक्षा प्राप्त गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाका विद्यालय तथा कलेजतर्फ आकर्षित हुने गरेका छन्। उज्ज्वल शैक्षिक भविष्यको खोजीमा राजधानी आउने विद्यार्थी र अभिभावकका लागि उपयुक्त शिक्षण संस्था छनोट गर्नु भने सहज विषय भने होइन।

यही दुविधालाई मध्यनजर गर्दै हामीले काठमाडौँ उपत्यकाभित्र कक्षा ११ र १२ को अध्यापन गराउने उत्कृष्ट १० निजी शिक्षण संस्थाको सूची तयार गरेका छौँ। विद्यालय छनोटका क्रममा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने कक्षा १२ को परीक्षाको नतिजा, विद्यार्थी संख्या, उपलब्ध शैक्षिक कार्यक्रम, भौतिक पूर्वाधार, शिक्षण–सिकाइको गुणस्तर, शिक्षक–विद्यार्थी अनुपात, विद्यार्थीका उपलब्धि, अन्तरविद्यालय प्रतियोगितामा प्राप्त सफलता तथा विद्यालयले सञ्चालन गर्ने विभिन्न तालिम र अतिरिक्त क्रियाकलापलाई आधार बनाइएको छ।

विद्यार्थी तथा अभिभावकलाई सही शैक्षिक संस्था छनोट गर्न सहयोग पुग्ने उद्देश्यका साथ विगतका वर्षहरूझैँ यस वर्ष पनि काठमाडौँ उपत्यकाका उत्कृष्ट १० निजी शिक्षण संस्थाको सूची प्रस्तुत गरेका छौँ ।

१. सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौं

काठमाडौंको माइतीघरमा अवस्थित सेन्ट जेभियर्स कलेज विज्ञान शिक्षाका लागि विद्यार्थी तथा अभिभावकको प्रमुख रोजाइमध्ये एक हो। कलेजले हरेक वर्ष विज्ञान संकायतर्फ करिब ५०० विद्यार्थी भर्ना गर्दै आएको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने कक्षा १२ को परीक्षामा कलेजले पछिल्लो तीन वर्षमा औसत ९९ प्रतिशत नतिजा हासिल गरेको छ। करिब ६ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको कलेजमा १३० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। यहाँ आधुनिक विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा, पुस्तकालय र अन्य आवश्यक शैक्षिक पूर्वाधार उपलब्ध छन्। कलेजले अतिरिक्त तथा सह-पाठ्यक्रम गतिविधिलाई पनि समान प्राथमिकता दिँदै आएको छ।

यस कलेजका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्। साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओलम्पियाड र अन्तरविद्यालय प्रतियोगिताहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन्। उत्कृष्ट शैक्षिक नतिजा, अनुभवी शिक्षक, आधुनिक पूर्वाधार र समग्र व्यक्तित्व विकासमा केन्द्रित शिक्षण पद्धतिका कारण सेन्ट जेभियर्स कलेज विद्यार्थी तथा अभिभावकको विश्वासिलो रोजाइ बनेको छ।

२. काठमाडौं मोडल माध्यमिक विद्यालय (केएमसी), बागबजार, काठमाडौं

काठमाडौंको बागबजारमा अवस्थित काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी) मा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन विषयको अध्यापन हुँदै आएको छ। करिब २० रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ परीक्षामा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। पछिल्लो तीन वर्षमा विद्यालयको औसत उत्तीर्ण दर ९९ प्रतिशत रहेको छ। विद्यालयमा २५० भन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन् भने कक्षा ११ र १२ मा चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। आधुनिक विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा, पुस्तकालय, आवासीय सुविधा, यातायात तथा चमेना गृह विद्यालयका प्रमुख पूर्वाधार हुन्।

केएमसीले अनुसन्धान तथा प्रस्तुतीकरण, मूट कोर्ट, रोबोटिक्स, नेतृत्व विकास, खेलकुद तथा विभिन्न शैक्षिक प्रतियोगिता र तालिमहरू सञ्चालन गर्दै आएको छ। विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरका हाजिरीजवाफ, ह्याकाथन, युवा वैज्ञानिक सम्मेलन तथा आर्थिक प्रतियोगितासहित ५० भन्दा बढी प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका छन्। विद्यालयका विद्यार्थीहरूले चिकित्सा, इन्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी (सीए) तथा कानुन अध्ययनका विभिन्न प्रवेश परीक्षामा उत्कृष्ट उपलब्धि हासिल गर्दै आएका छन्। उत्कृष्ट शैक्षिक नतिजा, प्रवेश परीक्षा तयारी, आधुनिक पूर्वाधार र अनुभवी शिक्षकका कारण केएमसी विद्यार्थी तथा अभिभावकको प्रमुख रोजाइ बनेको छ।

३. क्यापिटल मावि (सिसिआरसी), कोटेश्वर, काठमाडौं

काठमाडौंको कोटेश्वर–नरेफाँटमा अवस्थित क्यापिटल माध्यमिक विद्यालय (सीसीआरसी) मा विज्ञान, व्यवस्थापन र कानुन संकायको अध्यापन हुँदै आएको छ। २५ वर्षभन्दा बढी शैक्षिक अनुभवसहित यस विद्यालयले हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै राजधानीका प्रतिष्ठित शैक्षिक संस्थामध्ये आफ्नो स्थान स्थापित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ परीक्षामा विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ, जसअनुसार पछिल्ला वर्षहरूमा औसत उत्तीर्ण दर करिब ९९ प्रतिशतभन्दा माथि रहेको छ।

विद्यालयमा आधुनिक कक्षाकोठा, विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, पुस्तकालय, आवासीय सुविधा तथा यातायात सेवा उपलब्ध छन्। साथै, विद्यार्थीहरूको समग्र विकासका लागि विभिन्न शैक्षिक, नेतृत्व विकास तथा अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्। उत्कृष्ट शैक्षिक नतिजा, अनुभवी शिक्षक, आधुनिक पूर्वाधार र विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिका कारण सीसीआरसी विद्यार्थी तथा अभिभावकको विश्वासिलो रोजाइ बनेको छ।

४. ग्लोबल कलेज अफ साईन्स एण्ड म्यानेजमेन्ट , मध्यबानेश्वर, काठमाडौं

काठमाडौंको मध्यबानेश्वरमा अवस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायको अध्यापन गर्दै आएको छ। काठमाडौँ उपत्यकाका विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्ने यस कलेजले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ परीक्षामा विगत तीन वर्षदेखि शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ। आधुनिक पूर्वाधारयुक्त कलेजमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा, चमेना गृह र यातायात सुविधा उपलब्ध छन्। साथै, कलेजले शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिहरूलाई समान रूपमा प्राथमिकता दिँदै आएको छ।

करियर काउन्सिलिङ, सीपमूलक तालिम तथा विभिन्न प्रतियोगितामार्फत विद्यार्थीको समग्र विकासमा केन्द्रित ग्लोबल कलेज अफ म्यानेजमेन्ट उत्कृष्ट शैक्षिक परिणामका कारण प्रतिष्ठित शिक्षण संस्थाका रूपमा स्थापित छ।

५. ट्रिनिटी इन्टरनेसनल स्कुल, डिल्लीबजार, काठमाडौं

काठमाडौँको डिल्लीबजारमा अवस्थित ट्रिनिटी इन्टरनेसनल स्कुल उपत्यकाका प्रमुख शैक्षिक संस्थामध्ये एक हो। स्थापनाकालदेखि नै शैक्षिक उत्कृष्टता र विशिष्ट पहिचान कायम गर्दै आएको यस विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायका विषयहरू अध्यापन गर्दै आएको छ। विद्यालयले ठूलो संख्यामा विद्यार्थी भर्ना लिँदै नियमित परीक्षा प्रणालीमार्फत शैक्षिक गुणस्तर सुनिश्चित गर्दै आएको छ। विद्यार्थीहरूले चिकित्सा, इन्जिनियरिङ तथा अन्य प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा समेत उल्लेखनीय सफलता हासिल गरेका छन्।

शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय यस विद्यालय समग्र विद्यार्थी विकासमा केन्द्रित प्रतिष्ठित शिक्षण संस्था हो।

६. नामी इन्टरनेसनल स्कुल, जोरपाटी, काठमाडौं

काठमाडौंको जोरपाटीमा अवस्थित नामी इन्टरनेसनल स्कुल सन् २०१३ मा स्थापना भई हाल विद्यालयले विज्ञान र व्यवस्थापन संकायमा रास्ट्रिय परीक्षा बोर्ड सम्बद्ध कक्षा ११ र १२ कार्यक्रमसँगै क्याम्ब्रिज A लेभल कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयले विद्यार्थीको शैक्षिक उत्कृष्टता, बिश्लेषणात्मक सोच र समग्र विकासलाई प्राथमिकता दिँदै आएको छ। विद्यालयले सन् २०२४ मा प्राथमिक तह सुरु गरेको हो र हाल कक्षा ७ सम्म अध्यापन भइरहेको छ। आगामी वर्षहरूमा क्रमशः कक्षा १० सम्म विस्तार गर्ने योजना रहेको छ। गत बर्ष कक्षा ११ र १२ मा करिब १,१५० विद्यार्थी अध्ययनरत थिए।

आधुनिक कक्षाकोठा, सुसज्जित प्रयोगशाला, सूचना तथा सञ्चार प्रविधि (ICT) सुविधा र पुस्तकालयसहितको विद्यार्थी–केन्द्रित सिकाइ वातावरण विद्यालयले प्रदान गर्दै आएको छ। सन् २०२४ देखि विद्यालयले क्याम्ब्रिज एसिस्मेन्ट इन्टरनेसनल एजुकेसन (CAIE) को स्वतन्त्र परीक्षा केन्द्रका रूपमा पनि मान्यता प्राप्त गरेको छ। शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलाप, इन्टर्नशिप, करियर काउन्सिलिङ तथा सामुदायिक सहभागिता मार्फत विद्यालयले विद्यार्थीहरूलाई उच्च शिक्षा तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय अवसरका लागि तयार र प्रोत्साहन गर्दै आएको छ।

७. प्रसादी एकेडेमी, मानभवन ,ललितपुर

ललितपुरमा अवस्थित प्रसादी एकेडेमी कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायको अध्यापन गराउने प्रमुख शिक्षण संस्था हो। करिब २९ वर्षदेखि प्लस–टु शिक्षामा मात्र केन्द्रित यस कलेजले कक्षा ११ मा करिब ८०० विद्यार्थी भर्ना लिँदै आएको छ।

सीमित भर्ना, अनुभवी शिक्षक र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिका कारण प्रसादी एकेडेमी शैक्षिक उत्कृष्टताका लागि परिचित छ। कलेजमा विज्ञान प्रयोगशाला, चमेना गृह तथा आवश्यक शैक्षिक पूर्वाधारको व्यवस्था छ। गुणस्तरीय नतिजा र सुदृढ व्यवस्थापनका कारण यस संस्थाले नेपाल सरकारद्वारा प्रदान गरिएको उत्कृष्ट माध्यमिक विद्यालय पुरस्कार पाँच पटकसम्म प्राप्त गरेको छ।

८. मुनलाइट सेकेन्डरी स्कुल(मोलिस), कुमारीपाटी, ललितपुर

ललितपुरको सातदोबाटोमा अवस्थित मुनलाइट माध्यमिक विद्यालय (मोलिस) मा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायका विषयहरूको अध्यापन हुँदै आएको छ। शैक्षिक गुणस्तरलाई प्राथमिकता दिँदै सीमित भर्ना प्रणाली अपनाउँदै आएको यस विद्यालयले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।

विद्यालयको पछिल्ला वर्षहरूको उत्तीर्ण दर उच्च रहेको छ। करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा आधुनिक प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा, पुस्तकालय, आवासीय सुविधा, चमेना गृह तथा यातायात सेवा उपलब्ध छन्। शैक्षिक उत्कृष्टता, विद्यार्थी–केन्द्रित व्यवस्थापन र नेतृत्व विकासमा केन्द्रित दृष्टिकोणका कारण मोलिस विद्यार्थी तथा अभिभावकको विश्वासिलो रोजाइ बनेको छ।

९. काठमाडौं बर्नहार्ट माध्यमिक विद्यालय, बल्खु, काठमाडौं

काठमाडौंको बल्खुमा अवस्थित बर्नहार्ट माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन र कानुन संकायका विषयहरूको अध्यापन हुँदै आएको छ। कक्षा ११ र १२ मा वार्षिक करिब १,६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ परीक्षामा विद्यालयले पछिल्ला वर्षहरूमा ९५ देखि ९९ प्रतिशतसम्मको उत्कृष्ट उत्तीर्ण दर हासिल गर्दै आएको छ। विद्यालयमा करिब १४० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। आधुनिक पूर्वाधार, प्रविधिमैत्री कक्षाकोठा, प्रयोगशाला, आवासीय सुविधा तथा यातायात सेवासहित बर्नहार्ट माध्यमिक विद्यालय गुणस्तरीय र विद्यार्थी–केन्द्रित शिक्षाका लागि परिचित छ।

१०. मनास्लु वर्ल्ड कलेज, चुच्चेपाटी, चावहिल, काठमाडौं

काठमाडौंको चावहिल–चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायका विषयहरूको अध्यापन हुँदै आएको छ। हाल कक्षा ११ र १२ मा करिब २,२०० विद्यार्थी अध्ययनरत छन्।

राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ परीक्षामा विद्यालयले पछिल्ला वर्षहरूमा ७८.३४ प्रतिशतदेखि ९८.५७ प्रतिशतसम्मको उत्तीर्ण दर हासिल गरेको छ। करिब ८ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको यस कलेजमा १५४ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।

आधुनिक प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा, आवासीय सुविधा, चमेना गृह र यातायात सेवासहितको भौतिक पूर्वाधार कलेजमा उपलब्ध छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शैक्षिक तालिम, प्रतियोगिता र नेतृत्व विकास कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिँदै आएका छन्। उत्कृष्ट शैक्षिक पूर्वाधार, विविध अवसर र व्यवहारिक शिक्षामा जोडका कारण मनास्लु वर्ल्ड कलेज विद्यार्थीहरूको प्रमुख रोजाइ बनेको छ।

Published : Monday, 2026 June 1, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया