जागरण अभियानका लागि एमालेले दियो नेताहरूलाई जिम्मेवारी
काठमाडौं । एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान शुरु गरेको जनाएको छ ।
अभियान सफल पार्न केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको एमालेले जनाएको छ ।
जेठ ४ गतेबाट शुरु भएर ८,९ र १० गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) २ जारी गर्दै यो अभियान घोषणा गरेका हुन् । गणतन्त्र दिवशका दिन जेठ १५ गतेको मितिमा जारी गरिएको अपानिमा नेताहरूको जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ । पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इञ्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ ।
केन्द्रीय सदस्यहरू मात्र पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ ।
एमालेले गरेको कार्यविभाजन अनुसार अध्यक्षले समग्र कामको नेतृत्व र महासचिवले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ ।
उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ । नौमध्ये छ जना सचिवलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
कोशीका मुख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ ।
सचिवहरू छविलाल विश्वकर्मालाई इञ्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इञ्चार्ज, यमलाल कँडेललाई कर्णाली इञ्चार्ज, शेरधन राईलाई कोशी इञ्चार्ज, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इञ्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इञ्चार्ज तोकिएको छ ।
खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ ।
‘जिल्ला इञ्चार्ज तोकिएका नेताहरूलाई समेत पालिकाको जागरण अभियानमा सहभागी गराइएको छ’ एमालेका एक सचिवले भने, ‘अन्यथा एक जना केन्द्रीय सदस्यलाई बढीमा दुईवटा पालिकाको जिम्मेवारी दिंदै जागरण अभियानमा केन्द्रित हुन भनिएको छ ।’
निर्वाचनपछि सुस्ताएका कमिटी र पार्टी गतिविधिलाई जागरण अभियानले गतिदिने एमालेको अपेक्षा छ । कार्यविभाजन अनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य र प्रेस चौतारी नेपालको इञ्चार्जमा रामकुमारी झाँक्रीलाई तोकिएको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया