राजनीतिक दल र सरकारको नेतृत्वमा पुगेकाहरूको व्यवहारले संघीयतालाई जोखिम : इन्द्र बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै नागरिकको दैनिक जीवनमा परिवर्तन ल्याउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार हेटौँडामा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विगतका गल्ती कमजोरी सुधार गर्दै नागरिकको अधिकार प्राप्तिमा क्रियाशील हुनुपर्ने बताए ।

संघीयताको रक्षाको चुनौती सम्बोधनमा वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बानियाँले बताए । उनले पछिल्लो समय जनतामा, विशेष गरी युवाहरूमा बढेको असन्तुष्टि र केही उपलब्धि भएको छैन भन्ने गलत भाष्य चिर्न आवश्यक रहेको बताए ।

राजनीतिक दल र सरकारको नेतृत्वमा पुगेकाहरूको व्यवहार र शैलीका कारण उत्पन्न वितृष्णालाई बहाना बनाएर संघीयतालाई नै जोखिममा पार्ने खेल भइरहेको मुख्यमन्त्री बानियाँले बताए ।

बागमती प्रदेशको आगामी कार्य दिशा जनमुखी, आयमुखी, गरिबमुखी र विकासमुखी हुने उनले बताएका छन् ।

मुख्यमन्त्री बानियाँले विकासलाई केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नराखी सामाजिक रूपान्तरण, आर्थिक सशक्तीकरण र मानव विकाससँग जोडेर अघि बढाउपर्ने बताए ।

उनले सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन् । गरिब, विपन्न, श्रमिक, महिला र सीमान्तकृत समुदायको उत्थानलाई केन्द्रमा राखेर समावेशी विकासको अवधारणा कार्यान्वयन गर्ने दिशामा प्रदेश सरकार दृढ रहेको उनले बताए ।

‘लोकतन्त्रको सुन्दरता संवाद र सहभागितामा निहीत हुन्छ, त्यसैले व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितलाई केन्द्रमा राख्नुपर्छ,’ मुख्यमन्त्री बानियाँले भने ।

Published : Friday, 2026 May 29, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया