पवित्र पर्व ईदले समृद्ध, न्यायपूर्ण र सुशासित समाज निर्माण गर्न मद्दत पुगोस् : मुख्यमन्त्री बानियाँ
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बकर ईद (ईद–उल–अज्हा) पर्व २०८३ को शुभकामना दिएका छन् ।
बिहीबार मुख्यमन्त्री बानियाँले शुभकामना सन्देश जारी गरेर इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा)को सुखद् अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताहरूले भरिएको एक सुन्दर देश हो,’ उनले भने, ‘विविधताबीचको एकतार आपसी सद्भाव नै हाम्रो राष्ट्रिय पहिचान र गौरव हो ।’
‘यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीका आफनै मौलिक परम्परा र सांस्कृतिक महत्त्व छन्,’ बानियाँले भने, ‘त्याग, बलिदान, र आपसी भ्रातृत्वको प्रतीकका रूपमा मनाइने बकर ईद जस्ता पवित्र पर्वहरूले हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न र धार्मिक संहिष्णुतालाई अझ प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।’
बानियाँले भने, ‘बागमती प्रदेश सरकार नागरिकको हकहित संरक्षण गर्दै प्रदेशको सर्वाङ्गीण विकासमा निरन्तर क्रियाशील छ । वर्तमान प्रदेश सरकारको मूल सङ्कल्प जनमुखी, गरिब मुखी, सेवामुखी, न्यायमुखी, आयमुखी र विकासमुखी सिद्धान्तमा आधारित छ ।’
‘यस पावन अवसरमा हामी न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माणका लागि विपन्न एवम् पिछडिएका वर्गको आयआर्जन र सेवा प्रवाहमा विशेष केन्द्रित हुँदै लोक कल्याणकारी राज्यको अवधारणा साकार पार्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु,’ बानियाँले भने ।
‘यस्ता चाडपर्वहरूले सरकारको यस विकास र समृद्धिको यात्रामा सम्पूर्ण नागरिकलाई गोलबद्ध हुन थप ऊर्जा र प्रेरणा प्रदान गर्नेछन् भन्ने मैले विश्वास लिएको छु,’ मुख्यमन्त्री बानियाँले भने ।
‘यस पवित्र पर्वले हामी सबै नेपालीहरूबीच आपसी एकता, भ्रातृत्व, सद्भाव र सहयोगको भावना अभिवृद्धि गरी एक समृद्ध, न्यायपूर्ण र सुशासित समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना गर्दछु,’ मुख्यमन्त्री बानियाँले भने ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया