कांग्रेस बलियो बनाउन अहँकार र व्यक्तिगत स्वार्थ त्यागौं, कौरव विभाजित हुँदा पाण्डवसँग पराजित भए : नैनसिंह महर
धनगढी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्यलाई समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् ।
आइतबार कैलालीको धनगढीमा शेरबहादुर देउवा पक्षीय नेताहरूको सुदूरपश्चिम प्रदेशस्तरीय भेला एवम् बृहत एकता तथा पुनर्जागरण कार्यक्रममा नेता महरले फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुने बताए । महरले नेपाली कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएकोले पार्टीभित्र बृहत एकताका साथ १५औँ माहाधिवेशनमा होमिनुको बिकल्प नभएको बताए ।
उनले भने, ‘कांग्रेस केवल चुनाव जित्ने संगठन होइन, यो लोकतन्त्र बचाउन हजारौं मानिसले जेल बसेको, रगत बगाएको र बलिदान दिएको आन्दोलनको विरासत हो । यस्तो पार्टी कमजोर हुनु भनेको लोकतान्त्रिक मूल्य कमजोर हुनु हो ।’
‘त्यसैले आज हामी कसलाई हराउने भन्ने होइन, कसरी सबैलाई जोड्ने भन्ने विषयमा केन्द्रित हुनुपर्छ,’ उनले भने ।
नेता महरले पार्टीभित्र देखिएको मतभेदलाई स्वाभाविक प्रक्रिया बताउँदै असहमति हुन सक्ने तर, मतभेद हुन नहुने बताए ।
‘जहाँ विचार हुन्छ, त्यहाँ बहस हुन्छ । जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ फरक मत हुन्छ,’ उनले भने, ‘विचार फरक हुँदैमा हृदय टाढिनु हुँदैन । कांग्रेसको सुन्दरता नै विविध विचारलाई एउटै राष्ट्रिय उद्देश्यमा जोड्ने क्षमता हो ।’
महाभारतको प्रसंग उल्लेख गर्दै महरले एकताको शक्ति ईतिहासले प्रमाणित गरिसकेको बताए । उनले भने, ‘महाभारतमा पाण्डवहरू संख्या कम थिए, शक्ति कम थियो । तर, उनीहरूबीच विश्वास थियो, एकता थियो, साझा लक्ष्य थियो । कौरवहरूसँग विशाल सेना थियो, शक्ति थियो । तर, उनीहरू विभाजित थिए । अन्ततः ईतिहासले देखायो । विजय संख्याले होइन, एकताले दिलाउँछ ।’
वी.पी. कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र लोकतन्त्रलाई केन्द्रमा राखेको उनले बताए ।
‘हाम्रा अग्रजहरूले सत्ता होइन, सिद्धान्तलाई ठूलो ठान्नुभयो । जेल, यातना र संघर्ष सहेर बनाएको पार्टीलाई आज हामीले व्यक्तिगत आग्रह र पूर्वाग्रहका कारण कमजोर बनायौं भने इतिहासले हामीलाई कहिल्यै माफ गर्ने छैन,’ उनले भने ।
नेता महरले सबै नेता कार्यकर्तालाई गुट, अहँकार र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कांग्रेस संगठनलाई बलियो बनाउन आग्रह गरेका छन् । कार्यकर्तालाई गुट, आग्रह र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह गर्दै कांग्रेसको मूल शक्ति भनेकै विविध विचारलाई एउटै राष्ट्रिय उद्देश्यमा जोड्ने क्षमता भएको उनले बताए ।
‘हामी फरक धाराका हुन सक्छौं, फरक विचारका हुन सक्छौं, हाम्रो अन्तिम लक्ष्य एउटै हो लोकतन्त्रको रक्षा, कांग्रेसको मजबुती र समृद्ध नेपाल निर्माण,’ उनले भने, ‘नदीका धाराहरू फरक भए पनि अन्ततः समुद्र एउटै हुन्छ ।’
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका नेता, कार्यकर्ता, युवा तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया