विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बिहीबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने धादिङ घर भएका ३७ वर्षीय शरण थापा, काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ घर भएका ३७ वर्षीय विष्णु सिलवाल रहेका छन् ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–१० बस्ने ४५ वर्षीय उत्तम गुरूङ, काठमाडौं महानगरपालिका–३२ बस्ने २९ वर्षीया प्रियंकाकुमारी चौधरी र काठमाडौं महानगरपालिका–३२ बस्ने सुनसरी घर भएका ३१ वर्षीय अर्जुनकुमार चौधरी रहेका छन् ।

पक्राउमध्ये शरणले सिङ्गापुर पठाइदिन्छु भन्दै ४३ जना पीडितहरूबाट ५ करोड १ लाख १२ हजार रूपियाँ, विष्णुले मकाउ पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ११ लाख रूपियाँ, उत्तमले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपियाँ, प्रियंकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपियाँ र अर्जुनले पोर्चुगल पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट २५ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको आरोप छ ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले शरणलाई काठमाडौं महानगरपालिका–१०, विष्णुलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८, उत्तमलाई काठमाडौं महानगरपालिका–६, प्रियंकालाई काठमाडौं महानगरपालिका–११ र अर्जुनलाई काठमाडौं महानगरपालिका–१० बाट पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Saturday, 2026 May 23, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया