अख्तियारद्वारा शिक्षक भोजराज न्यौपानेविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध मुद्दा दायर भएको छ ।

शुक्रबार अख्तियारले न्यौपानेविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरिएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।

सहायक प्रवक्ता अधिकारीका अनुसार न्यौपानेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकोले छानबिन गरी कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा न्यौपानेले श्री गंगा माध्यमिक विद्यालय, माथाचौर पेरेमा माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति पाउनको लागि त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पाइएको थियो ।

आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ ।

Published : Friday, 2026 May 22, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया