एमालेमा नेताहरूको वरीयता, को कहाँ पुगे ?

काठमाडौं । एमालेले केन्द्रीय पदाधिकारीहरूको वरीयता निर्धारण फ्रक्रिया अघि बढाएको छ ।

शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकले पारित गर्ने गरी प्रस्ताव पेस गरिएको हो । महासचिव शंकर पोखरेलले सोमबारको बैठकमा यो प्रस्ताव गरेका थिए ।

एमालेको वरीयतामा अध्यक्ष केपी ओली, उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन् । उपाध्यक्षहरूमा एक नम्बरमा थापा र अन्तिममा पन्त छन् ।

महासचिवमा शंकर पोखरेल, उपमहासचिवहरूमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई छन् । सचिवहरूमा छविलाल विश्वकर्मा वरीयताको अग्रपंक्तिमा राखिएका छन् ।

सचिवहरूमा पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत छन् ।

गत पुसमा महाधिवेशन भए पनि नेताहरूको जिम्मेवारी तोकिएको थिएन । केन्द्रीय सचिवालयमा गरिएको प्रस्तावमा अध्यक्ष ओली समग्र पार्टी, उपाध्यक्षहरू रामबहादुर थापालाई सुशासन, सेवा प्रवाह, विष्णु पौडेललाई पार्टी विभागहरू, पृथ्वीसुब्बा गुरुङ सामाजिक विकाससम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार, रघुजी पन्त मानवस्रोतको जिम्मेवारी दिएको छ ।

महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक कामको संयोजन, केन्द्रीय कार्यालय, उपमहासचिवहरू लेखराज भट्टलाई नीति तथा योजना, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता, योगेश भट्टराईलाई नीति तथा योजनाको संयोजक तोकेको छ ।

सचिव पद्मा अर्याललाई संसदीय मामिला विभागको प्रमुख जिम्मेवारी दिइने भएको छ । सचिवहरूमध्ये छविलाललाई विश्वकर्मालाई लुम्बिनी इञ्चार्ज, खगराज अधिकारीलाई गण्डकी, भानुभक्त ढकाललाई संगठन विभाग, यामलाल कँडेललाई कर्णाली, शेरधन राईलाई कोशी, राजन भट्टराईलाई राजधानी विशेष, हिक्मतबहादुर कार्कीलाई राष्ट्रिय हित र महेश बस्नेतलाई वाग्मती इञ्चार्जमा प्रस्ताव गरिएको छ ।

Published : Thursday, 2026 May 21, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया