कांग्रेसका लागि गगनको अभिव्यक्ति र गतिविधि आपत्तिजनक : पूर्णबहादुर खड्का

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित शेरबहादुर देउवा पक्षीय नेताहरुको भेलामा खड्काले गगन थापाले आफ्नो गल्ती अझै नस्वीकारेको बताए ।

‘उहाँले पनि गल्ती स्वीकारे म खुसी नै हुन्छ । तर, अस्ति गण्डकीमा सुने, पार्टीका नेताहरूलाई लल्कारिराख्नुभएको छ,’ खड्काले भने, ‘पार्टीको वडा सभापतिले अद्यावधिकको काम नगरे अर्को मान्छेलाई तोक्दिन्छु, यही हो नेपाली कांग्रेस पार्टी ? लोकतान्त्रिक पार्टी ?’

खड्काले आफूबाट भएको गल्ती स्वीकार्न तयार भएको बताउँदै विशेष महाधिवेशनकै कारणले कांग्रेस ३८ सीटमा खुम्चिएको बताए ।

खड्काले भने, ‘निर्णय प्रक्रियामा केही गल्ती भएको रहेछ भने म स्वीकार्न तयार छु । कांग्रेसको विशेष महाधिवेशनकै कारणले रास्वपाले दुईतिहाइ मत पाएको हो, अहिले प्रधानमन्त्री अधिनायकवादी सोचका साथ हिँड्न थाल्नुभएको छ ।’

कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर सभापति बनेका गगन थापाले गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै वडा सभापतिले सदस्यता अद्यावधिकको काम नगरे अर्कोलाई जिम्मा दिने चेतावनी दिएका थिए । गगन थापाको सो अभिव्यक्तिलाई कांग्रेसभित्र अधिनायकवादी चरित्र र सोँचको रुपमा टिकाटिप्पणी भइरहेको छ ।

Published : Saturday, 2026 May 16, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया