बीस वर्षीया पत्नीको हत्यो अभियोगमा पति पक्राउ

बागचौर । सल्यान जिल्लामा पत्नीको हत्या गरेको अभियोगमा प्रहरीले बागचौर नगरपालिका–५, चिलडाँले निवासी २४ वर्षीय शंकर बादीलाई पक्राउ गरेको छ ।

वैशाख १४ गते राति खाना खाएर सुतेकी २० वर्षीया सरिता बादी भोलिपल्ट बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि माइती पक्षले श्रीमान् शंकर बादीमाथि हत्या गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।

माइती पक्षले शंकरले पटक–पटक मदिरा सेवन गरी श्रीमतीमाथि कुटपिट तथा मानसिक यातना दिने गरेको आरोप लगाउँदै आएका थिए । पछिल्लोपटक पनि घरेलु विवादकै क्रममा सरिताको हत्या गरिएको उनीहरूको आरोप छ । श्रीमानले आफ्नै घरको भुइँतलामा कर्तव्य ज्यान गरेको भन्दै माइती पक्षले अनुसन्धानको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार घटनामा संलग्न रहेको आरोपमा शंकर बादीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । घटनाको प्रकृति, मृत्युको कारण तथा अन्य तथ्यबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शंकर र सरिताले करिब एक वर्षअघि मात्रै विवाह गरेका थिए ।

Published : Saturday, 2026 May 16, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया