विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झ–झल्को दिन्छ : सपना प्रधान
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झ–झल्को दिने बताएकी छिन् ।
शनिबार काठमाडौंमा कानून दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानले संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित मर्ने भएपनि विधिको अपेक्षा राख्नेहरूको सपना भंग हुने बताइन् ।
उनले औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य विधिको शासनमा विश्वास गर्नका लागि सैह्य नहुने बताइन् ।
‘संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित त मर्ला तर, विधि र विधिसंगतको अपेक्षा राख्नेको सपना भंग हुने तय छ,’ उनले भनिन्, ‘विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झझल्को पनि दिन्छ । औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता, शासकको स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नका लागि सैह्य हुँदैन ।’
प्रधानले यस्ता कार्यमा विधिको शासनविरुद्ध षडयन्त्र गर्नेविरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्ने बताएकी छिन् ।
‘यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्ने कुरा हो, विधिको शासनविरुद्ध षडयन्त्र गर्नेविरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्छ,’ उनले भनिन् ।
कायाम मुकायम प्रधानन्यायाधीश प्रधानले भदौ २३ र २४ को घटना अनपेक्षित रहेको बताएकी छिन् । उनले भनिन्, ‘अनपेक्षित भदौ २३ र २४ मा भएको घटनापछि हामी विषम परिस्थितिमा पुगेका थियौं ।’
उनले भनिन्, ‘आगामी दिनहरूसम्म कुनै कारणले पनि कुनै परिस्थितिमा सौदा गर्न नमिल्ने न्यायको प्रतिस्थापन गर्न सर्वकालिक आवश्यकताको विरुद्ध यो वा त्यो कारण बनाएर धराप थाप्ने दुष्प्रयासलाई सहने वातावरण निर्माण होला भन्ने डर पनि उठिरहेको छ । यदि यस्तो प्रवृत्तिलाई संवैधानिक, शासीय संरचनात्मक प्रक्रियाको कुनै पनि स्थितिमा ग्राह्य, सह्य वा प्रतिरक्षात्मक स्थितिले काम ग¥यो भने तत्कालको आफ्नो शक्तिको उन्मादमा सहन वा पुष्टि गर्न खोजियो भने पनि यसको अनिश्चयता बुझ्न सकिनेछ ।’
‘एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिंदैन । संविधानलाई यथास्थितिमा राखेर संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन,’ उनले भनिन्, ‘संविधानको विरुप पारेर संविधानको सरोकारवाला सञ्चालकको रुप सिंगार्न सकिंदैन ।’
प्रधानले भनिन्, ‘संविधानको उल्लंघन गर्नेहरूलाई संविधानविरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको बफादार कार्यान्वयन पनि हुन सक्दैन ।’
‘सम्माननीय सभामुखज्यूले एकठाउँमा अभिव्यक्त गर्नुभएको थियो कि, न्यायपालिका पनि सरकारको स्पिरिटमा चल्न सक्छ ? म भन्न चाहन्छु, संविधानको स्पिरिटमा न्यायपालिका चल्न सक्छ । सरकारको स्पिडमा चल्न सक्छ, संविधानको स्पिरिट र सरकारको स्पिड । तब न्यायपालिका चल्न सक्छ, जब न्यायपालिकालाई स्रोतले सम्पन्न बनाउन सक्नुहुन्छ,’ प्रधानले भनिन् ।
‘अनि म सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन । चाहे त्यो दुईतिहाइ सरकारको डर नै किन नहोस् । चाहे त्यो महाभियोगको डर नै किन नहोस् । डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहींबाट आह्वान गर्न चाहन्छु,’ उनले भनिन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया