चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् ।

बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । तथापि, संशोधित विधानअनुसार अब आउने नेतृत्वका लागि भने अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनेछ । महासंघको संशोधित विधानले वरिष्ठ उपाध्यक्ष रहिरहने व्यवस्था गरे पनि अब उक्त पद सेरेमोनियल रूपमा रहनेछ । निर्वाचित कार्यकारीणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ ।

अरु चार उपाध्यक्ष (दुईवटा जिल्ला÷नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसिएट उपाध्यक्ष)सहित ६८ समूहगत कार्यकारीणी सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । श्रेष्ठ नेतृत्वको केन्द्रीय कार्यकारीणी समितिको पदावधि तीन वर्षको हुनेछ ।

यसअघि, बुधबार ६०औँ वार्षिक साधारणसभाले चार उपाध्यक्ष (जिल्ला÷नगर, वस्तुगत र एसोसिएट), प्रदेश द्विराष्ट्रिय, संस्थापक समूहसँगै समूहगत कार्यकारिणी सदस्यसमेत गरी कुल ७३ जना पदाधिकारी तथा सदस्य निर्वाचित गरेको छ ।

चार उपाध्यक्ष अरु कार्यकारीणी सदस्य तथा जिल्ला÷नगर अध्यक्षहरूका लागि भएको प्रत्यक्ष निर्वाचनमा ६८ उम्मेदवार विजयी भएका छन् ।

महासंघको नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र ६०औँ वार्षिक साधारणसभापछि स्वतः अध्यक्ष बनेका व्यवसायी अञ्जनकुमार श्रेष्ठ नेतृत्वको दुईवटा प्यानल चुनावी प्रतिस्पर्धामा थियो । अध्यक्ष श्रेष्ठ प्यानलले अत्यधिक मत र जित हासिल गरेको छ । महासंघको चुनावमा बहालवाला अध्यक्ष चन्द्रप्रसाद ढकालको समूहको लज्जास्पद पराजय भएको छ । चन्द्रप्रसाद ढकालसँग महासंघका मतदाताहरू रुष्ट रहेको संकेट देखाएको छ ।

चार उपाध्यक्षमा श्रेष्ठ समूहले ३ उपाध्यक्ष जितेको छ । निवर्तमान अध्यक्ष ढकाल प्यानलका तर्फबाट एक उम्मेदवारले मात्र उपाध्यक्ष पदमा जित निकाल्न सकेका छन् । ढकाल प्यानलबाट व्यवसायी नरेशलाल श्रेष्ठले जित निकालेका छन् । बाँकी जिल्ला÷नगर उपाध्यक्षतर्फ दुई पद र एसोसिएट उपाध्यक्ष श्रेष्ठ प्यानलले जितेको छ ।

जिल्ला÷नगरतर्फका दुईवटै उपाध्यक्षमा अध्यक्ष श्रेष्ठ समूहले बाजी मारेको छ । व्यवसायी कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ जिल्ला÷नगर उपाध्यक्षमा विजयी भएका छन् ।

ढकाल प्यानलबाट जिल्ला÷नगरतर्फका उम्मेदवार रहेका उमेश डालमिया र कल्पना गैरे पराजित भएका छन् । अञ्जन समूहका शर्मा र श्रेष्ठले क्रमशः ८७ र ८० मत प्राप्त गर्दा ढकाल प्यानलका डालमिया र गैरेले ५७ र ३४ मत प्राप्त गरेका छन् ।

यसअघि जिल्ला÷नगरतर्फ एक जना मात्र उपाध्यक्षको पद रहने व्यवस्था रहेको थियो । महासंघको पछिल्लो संशोधित विधानले यसपटकदेखि जिल्ला÷नगरतर्फ दुई उपाध्यक्ष रहने व्यवस्था गरेको छ ।

जिल्ला÷नगरतर्फका १५ कार्यकारीणी सदस्यहरूमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजू, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल विजयी भएका छन् ।

जिल्ला÷नगरतर्फ संरक्षित महिला कोटामा गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन् । वस्तुगत उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल नेतृत्वका उम्मेदवार नरेशलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले प्रतिस्पर्धी (अञ्जन श्रेष्ठ नेतृत्वका उम्मेदवार) शिवप्रसाद घिमिरेलाई पराजित गर्दै वस्तुगत उपाध्यक्षमा विजयी बनेका हुन् । श्रेष्ठले ६३ मत पाउँदा घिमिरेले ६० मत प्राप्त गरेका छन् ।

वस्तुगततर्फ १३ कार्यकारीणी सदस्यहरूमा अरनिको राजभण्डारी, नानीराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

वस्तुगततर्फ महिला सदस्यमा सुनिता न्हेम्याफुकी निर्वाचित भएकी छन् । एसोसिएटतर्फ श्रेष्ठ समूहका उम्मेदवार प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । पाण्डे ढकाल समूहका प्रत्यासी ज्योत्सना श्रेष्ठलाई ३२९ मतान्तरले पराजित गर्दै महासंघ राजनीतिको केन्द्रमा उदाएका हुन् । पाण्डेले १ हजार ७९ मत पाउँदा श्रेष्ठले ७५० मत पाएकी छन् ।

एसोसिएटतर्फ १७ कार्यकारीणी सदस्यहरूमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार वेगानी, सन्दीप अग्रवाल, सुनीलनारायण श्रेष्ठ, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा निर्वाचित भएका छन् । एसोसिएट महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन् ।

Published : Thursday, 2026 May 7, 2:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया