बालेनलाई विजयी बनाएका झापा ५ का मतदाताहरू नै दुईतिहाइको सरकारविरुद्ध सडकमा उत्रिए

काठमाडौं । सुकुमबासी बस्तीमा डोजर चलाएर खाली गराएको विरोधमा झापा क्षेत्र नं. ५ का भूमिहीन सुकुमबासीहरूले प्रदर्शन गरेका छन् ।

झापा क्षेत्र नं. ५ बाट निर्वाचित भएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का मतदाताहरूले सुकुम्बासी बस्तीमा डोजर चलाएर बिस्थापित बनाएको विरोधमा बुधबार झापामा प्रदर्शन गरेका हुन् ।

दमकमा भूमिहीन र सुकुमबासीहरूले झण्डै दुईतिहाइको सरकारविरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले अर्को बन्दोबस्त नगरेर वर्षौदेखि बसोबास गरि रहेको ठाउँबाट सुरक्षाकर्मी र डोजर चलाएर उठिबास गराउन नहुने बताएका छन् । अखिल नेपाल सुकुमबासी संघको आयोजनामा निकालिएको र्‍यालीले नगरका विभिन्न क्षेत्रको परिक्रममा गरेको छ ।

यसअघि झापा ५ को कमल गाउँपालिकामा समेत सुकुमबासी र भूमिहीनहरूले जुलुश सहित विरोध प्रदर्शन गरेका छन् । भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुमबासीहरूले सोमबार विरोध र्‍याली प्रदर्शन सहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।

विर्तामोडमा पनि सुकुमबासी र भूमिहीनहरू आन्दोलित बनेका छन् । उनीहरू बसोबास गरि रहेको स्थानबाट जबरजस्ती उठाउनु खोज्नु मानवीयता विपरीतको कार्य भएको समेत बताएका छन् ।

सुुकुमबासी संयुक्त संघर्ष समितिले ¥याली प्रदर्शन गरि स्थानीय सरकारलाई बसोबास गरेकै स्थानमो भूमि स्वामित्व दिलाउन समेत माग गरेका छन् ।

झापा ५ का स्थानीय सरकारहरू संघीय सरकारको सुकुमबासी र भूमिहीन बस्तीमा डोजर चलाउने अभियानको विरुद्धमा उभिएका छन् । उनीहरूले सुकुमबासीको बस्तीमा डोजर नचलाउने भनेका छन् ।

दमक नगरपालिकाका मेयर रामकुमार थापाले प्रहरी र प्रशासन कार्यालयबाट सुकुमबासीको विवरण उपलव्ध गराउन गरेको पत्राचारप्रति पनि आक्रोश व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘स्थानीय सरकार भनेको जननिर्वाचित निकाय हो, यो कुनै प्रशासन र प्रहरी मातहतको प्रहरी चौकी होईन । जनप्रतिनिधिमूलक निकायमा यस ढंगबाट पत्र पठाएर निर्देशन दिने काम बन्द गरियोस्, यो जनभावना विपरीत छ ।’

झापा ५ कै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पनि सुकुमबासीका बस्तीमा डोजर नचलाइने बताएका छन् । विगतका आयोगले अपेक्षाकृत काम गर्न नसक्दा भूमिहीनहरू अधिकारबाट बञ्चित भएको उनले बताए ।

Published : Wednesday, 2026 May 6, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया