सीआईबीद्वारा स्मार्ट टेलिकमका सञ्चालक जोशीलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा स्मार्ट टेलिकमका सञ्चालक सर्बेश जोशीलाई पक्राउ गरेको जनाएको छ ।

मंगलबार सीआईबीका प्रवक्ता समेत रहेका एसएसपी शिवकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरेर काठमाडौं महानगरपालिका वडा नं. २ खुर्सानीटार बस्ने वर्ष ४५ का जोशीलाई पक्राउ गरेको जनाएका छन् ।

सीआईबीका अनुसार जोशीले नेपाल दूरसञ्चार प्राधिकरण, जमल, काठमाडौंबाट २०७० वैशाख २ गते दूर सञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएका थिए ।

अनुमति लिएर सञ्चालन भएको स्मार्ट टेलिकम प्रा.लि.ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएकोमा दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको सीआईबीले प्रेस विज्ञप्तिमा जनाएको छ ।

नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा जोशीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

जोशीविरुद्ध सीआईबीले काठमाडौं
जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिएर काठमाडौंबाट सोमबार पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

Published : Tuesday, 2026 May 5, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया