प्रधानमन्त्रीको सचिवालयद्वारा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने आरोप अस्वीकार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार आफ्नो कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भनी केही सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचारप्रति प्रधानमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार प्रेस नोट जारी गरेर प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनेकी छिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू कार्यालय प्रवेश गर्ने क्रममा कार्यालय परिसरमा सवारी साधनहरूको अत्यधिक भीडभाड देखिएपछि उहाँले सोको व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राख्नुभएको थियो ।’
‘उहाँको यो चासो परिसरभित्रको सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग मात्र सम्बन्धित थियो। प्रधानमन्त्रीज्यूले सञ्चारकर्मीहरूलाई कार्यक्षेत्रबाट हटाउन वा आफ्नो भिडियो खिच्न रोक्न कुनै पनि किसिमको निर्देशन दिनुभएको होइन,’ दाहालले भनेकी छिन् ।
‘प्रधानमन्त्रीज्यू कार्यकक्षमा प्रवेश गरिसकेपछि उहाँको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीहरूलाई त्यहाँबाट हट्न भनेको भन्ने गुनासो सचिवालयमा प्राप्त भएको थियो,’ उनले भनिन् ।
‘उक्त जानकारी प्राप्त हुनासाथ सचिवालयले सम्बन्धित निकायसँग समन्वय गरी फिल्डमा रहेका सञ्चारकर्मी साथीहरूलाई प्रधानमन्त्री कार्यालय परिसरमा उपलब्ध गराइएको पहुँचमा कुनै पनि प्रकारको कटौती वा निषेध नगरिएको जानकारी गराइसकेको थियो,’ दाहालले भनेकी छिन् ।
‘प्रधानमन्त्रीको सचिवालय पुनः स्पष्ट पार्न चाहन्छ कि– जहाँ सञ्चारकर्मीहरूलाई सूचना संकलन र रिपोर्टिङका लागि अनुमति छ, त्यहाँ कुनै पनि किसिमको अवरोध भएको छैन र भविष्यमा पनि हुने छैन,’ दाहालले भनेकी छिन् ।
‘तसर्थ, सुरक्षा र व्यवस्थापनसँग जोडिएको सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको ‘अंकुश’ वा ‘अवरोध’का रूपमा अतिरञ्जित नगर्न हामी हार्दिक अनुरोध गर्दछौँ,’ प्रेस नोटमा उल्लेख छ ।
‘नेपाल सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्ध छ,’ प्रेस नोटमा भनिएको छ, ‘सञ्चार जगतसँग सहकार्य, पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन सरकार सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया