टोक्योमा डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीको विशेष कार्यक्रम

टोक्यो । विदेशमा रहेका नेपालीहरूको पुँजी र सिपलाई एकीकृत गरी नेपालको समृद्धिका लागि परिचालन गर्ने उद्देश्यका साथ महेशकुमार श्रेष्ठको नेतृत्वमा अघि बढाइएको ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को बारेमा जापानमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार टोक्योमा आयोजित कार्यक्रममा कम्पनीको अवधारणा, भावी योजना र लगानीका क्षेत्रहरूका बारेमा विस्तृत प्रस्तुतीकरण गरिएको छ । अभियानका संयोजक एवं गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष श्रेष्ठले गैरआवासीय नेपालीहरूको सानो सानो पुँजीलाई एकत्रित गरेर ठूला र गौरवका आयोजनामा लगानी गर्ने लक्ष्य रहेको बताए ।

श्रेष्ठले कम्पनीले मुख्यगरी जलविद्युत्, पर्यटन, कृषि, र पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित गर्ने जानकारी दिए । ‘हामी केवल लगानी मात्र गर्दैनौँ, विदेशमा सिकेको सीप र प्रविधिलाई पनि नेपाल भित्र्याउनेछौँ,’ उनले भने ।

पारदर्शी ढंगले सामूहिक लगानीको अवधारणा कार्यान्वयनमा ल्याइने भएकाले यसमा जोखिम न्यून र प्रतिफलको सुनिश्चितता रहने दाबी समेत गरिएको थियो ।

कार्यक्रममा जापानमा रहेका विभिन्न क्षेत्रका व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले सामूहिक लगानीकोे अवधारणालाई स्वागत गर्दै लगानीको सुरक्षा र सरकारी नीतिबारे जिज्ञासा राखेका थिए ।

जापानवासी नेपालीहरूले सो कम्पनीमार्फत नेपालको विकासमा जोडिन पाउने अवसरलाई उत्साहका साथ हेरेका छन् ।

कार्यक्रममा सहभागी केही व्यवसायीहरूले सामूहिक लगानीमार्फत राष्ट्रिय गौरवका आयोजनामा साझेदारी गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि त्यसलाई उत्पादनशील क्षेत्रमा लगाउन नसकिएको अवस्थामा यो कम्पनीले एउटा भरपर्दो पुलको काम गर्ने अपेक्षा गरिएको छ ।

‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’ले संसारभर छरिएका नेपालीहरुलाई एउटै छातामुनि ल्याएर ठूला आयोजनाहरू निर्माण गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा श्रेष्ठले आगामी दिनमा अन्य मुलुकहरूमा पनि यस्तै किसिमका अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरी लगानीकर्ताहरूलाई जोड्ने योजना रहेको सुनाए ।

कम्पनीको डाइरेक्टरमा गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष रोविन शेरचन रहेका छन् ।

Published : Sunday, 2026 May 3, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया