विराटनगर विमानस्थलमा झण्डै २७ लाखसहित दुई जना गिरफ्तार
विराटनगर । प्रहरीले विराटनगर विमानस्थलबाट स्रोत नखुलेको झण्डै २७ लाख रुपियाँसहित दुई जनालाई गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विमानस्थलमा यात्रु जाँचका क्रममा दुई फरक–फरक समयमा दुई जनाको झोलाबाट स्रोत नखुलेको नेपाली रुपियाँ फेला परेको छ ।
प्रहरीले बरामद गरेको कुल रकम २६ लाख ९८ हजार रुपियाँ रहेको छ । रकमको वैध स्रोत खुलाउन नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, मोरङमा राखी थप अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार पहिलो घटना २०८३ वैशाख १८ गते बेलुका करिब ८ बजे भएको हो । त्यसबेला बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका सुनसरीको धरान उपमहानगरपालिका–१८ बस्ने ३५ वर्षीय दिलिप तामाङको झोला चेकजाँच गर्दा ११ लाख रुपियाँ नगद फेला परेको थियो ।
त्यसको भोलिपल्ट २०८३ वैशाख १९ गते अपराह्न करिब १५ः३५ बजे श्री एयरको उडानबाट विराटनगरबाट काठमाडौं जान लागेका भारतीय नागरिकसमेत नगदसहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भारतको माल्दा जिल्ला, सुजागञ्ज सिंधिया चन्चल बस्ने ३६ वर्षीय मोहिद अलिको झोलाबाट १५ लाख ९८ हजार रुपियाँ नेपाली नगद फेला परेको थियो ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया