आईजीपी कार्कीद्वारा नवलपुरमा ट्राफिक प्रहरीको भवन उद्घाटन

नवलपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीले स्रोतको अभाव र न्यूनतम सुविधामा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाइरहेको बताएका छन् ।

शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुर को नवनिर्मित भवनको उद्घाटन गर्दै आईजीपी कार्कीले विकास निर्माणसँगै नागरिकका लागि सुरक्षा पहिलो प्राथमिकता भएकाले नागरिकले प्रत्याभूति गर्ने गरी शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई निर्देशन दिए ।

‘त्यसैले हामी प्रहरी सङ्गठनलाई प्रविधियुक्त बनाउनेतर्फ लागिपरेका छौं,’ उनले भने, ‘७० वर्ष लामो इतिहास बोकेको सङ्गठनका कार्यालय अहिले पनि ५० प्रतिशत भाडामा घरमा रहनु दुःखद् कुरा हो ।’

गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले २१औं शताब्दीमा भौतिक विकाससँगै सुरक्षा र नागरिकले अमनचैनको महसुस गर्नुपर्ने बताइन् । प्रहरीलाई भौतिक रूपमा सम्पन्न गराउन स्थानीय तहले सहयोग गर्दा महालेखा परीक्षकले बेरुजु देखाउने भन्दै शान्ति सुरक्षा कायममा प्रविधिमैत्री प्रहरी सङ्गठन निर्माणमा तीन तहको सहकार्य आवश्यक रहेको पनि उनले बताइन् ।

गण्डकी प्रदेश सरकारको ३ करोड २ लाख रुपियाँको लागतमा नवलपुर जिल्लामा सुविधासम्पन्न ट्राफिक प्रहरीको लागि भवनहरू निर्माण गरिएको छ ।

Published : Saturday, 2026 May 2, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया