बीस जनाको मृत्यु हुने गरी भएको रोल्पा दुर्घटनाको छानविन गर्न एसपीको नेतृत्वमा समिति गठन
काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका वडा नं. १, सल्यापस्थित कच्ची सडकखण्डमा बिहीबार २० जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार सचिवस्तरीय निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षक (एसपी) यादव ढकालको संयोजकत्वमा गठित चार सदस्यीय समिति गठन गरिएको छ ।
समितिले जीप दुर्घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको छ ।
छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल, रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय, रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।
गृह मन्त्रालयले समितिलाई २० जनाको ज्यान जाने गरी जीप दुर्घटना कसरी भयो ? यसमा क–कसको लापरबाही वा कमजोरी रह्यो भन्ने पत्ता लगाउनु पर्ने अधिकार दिएको छ । आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमहरूबारे सुझाव दिन समितिले कार्यादेश पाएको छ ।
रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो करिब २ बजेर ५० मिनटमा कच्ची सडकबाट झण्डै ८ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं. ५ टाकुरा बस्ने बर्ष २८ का गोर्खबहादुर बि.सी., सोही ठाउँ बस्ने बर्ष ५३ (अन्दाजी)की तिलकुमारी बुढाथोकी, सोही ठाउँ बस्ने बर्ष २८ (अन्दाजी)का युवा बुढाथोकी, सोही ठाउँ बस्ने बर्ष १० (अन्दाजी)का दीब्यान बुढाथोकी, रुकुमपूर्व धाउन्ने अन्टी बस्ने बर्ष २४ की सृजना बुढाथोकी, सोही ठाउँ बस्ने बर्ष १३ का सुदीप बुढाथोकी, सोही ठाउँ बस्ने बर्ष ४० की ओमकुमारी बुढाथोकीको सनाखत भएको रोल्पा प्रहरीको सूचनामा उल्लेख छ ।
दाङको घोराही उपमहानगरपालिका वड नं. १६ बुद्दचोक बस्ने बर्ष ५० की द्रोपती जि.सी, सोही ठाउँ बस्ने बर्ष ३२ की तिला जि.सी., सोही ठाउँ बस्ने बर्ष ७ का जेनिस घर्ती, सोही ठाउँ बस्ने बर्ष १२ की जेनिसा जि.सी., सोही ठाउँ बस्ने बर्ष २५ की एलिसा घर्तीको सनाखत भएको रोल्पा प्रहरीको सूचनामा उल्लेख छ ।
लम्जुङ बस्ने बर्ष ७ को संयोग थापा, सोही ठाउँ बस्ने यमबहादुर जि.सी., दाङको शान्तिनगर गाउँपालिका घर भइ हाल रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं. ५ टाकुरा बस्ने बर्ष ४२ का बेदुराम बि.क.(चालक), सोही ठाउँ बस्ने बर्ष ६० की मीना बि.क., सोही ठाउँ बस्ने बर्ष ६० की लाटी भन्ने लक्ष्मी शाह, रुकुमपूर्वको भूमे गाउँपालिका वडा नं. ५ बस्ने टेकप्रसाद बुढा, सोही ठाउँ बस्ने बर्ष २७ की रुक्मिना थापा बस्नेत र दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ गुर्जे बस्ने भनमाया बिष्टको सनाखत भएको रोल्पा प्रहरीले जनाएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया