अध्यादेश फिर्ता लिनुस्, फास्ट ट्रयाकबाट विधेयक पास गर्नुस्, बुद्धिमानि त्यही हो : कांग्रेस नेता खड्का
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले दुईतिहाइ नजिकको बालेन्द्र शाह नेतृत्वको सरकारलाई अध्यादेशहरू फिर्ता लिएर संसदबाट फास्ट ट्रयाकमा विधेयकहरू पास गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता खड्काले बोलाइसकेको संसद बैठक रोकेर अध्यादेश ल्याउनु कुनै पनि अवस्थामा उपयुक्त मान्न नसकिने बताए । उनले अध्यादेशले देश र जनताका लागि दीर्घकालीन हित नहुने चेतावनी दिएका छन् ।
उनले भने, ‘सरकारले संसद नबसेको बेला विशेष परिस्थितिमा अति आवश्यक र देशलाई धेरै हित हुने जस्ता बिषयमा कहिले काहि अध्यादेश ल्याउनुलाई स्वाभाविक मानिए पनि यसपटक सर्वथा पृथक काम भयो ।’
‘बोलाएको संसद बैठक नबसाइ संसद स्थगन गरेर अध्यादेश ल्याउनु कुनै पनि तर्कले यसलाई ठीक भन्न मिल्दै, हुँदैन,’ नेता खड्काले भने ।
‘सरकारको बुद्धिमानि हुन्छ अध्यादेश फिर्ता गरेर तत्काल संसद बैठक बोलाई फास्ट ट्रयाकबाट अध्यादेशमा ल्याउन चाहेको बिषय बिधेयकमार्फत संसदबाटै ल्याउने,’ खड्काले भने ।
उनले भने, ‘अध्यादेशका बिगतका गलत नजिर देखाएर बर्तमान करीव दुईतिहाइको सरकारले आफ्नो बाटो तय गर्नु अहँकारी कदम मात्र हुनेछ ।’
‘यसले न सरकारको, न देश र जनताको नत लोकतान्त्रिक मूल्य, मान्यताको रक्षाको दीर्घकालीन हितमा हुनेछ । बाँकी दुईतिहाइ नजिकको बालेन सरकारको मर्जी,’ नेता खड्काले भनेका छन् ।
झण्डै दुईतिहाइ बहुमतको सरकार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यादेशबाट मुलुक सञ्चालन गर्न लागेपछि विरोध भइरहेको छ । बोलाइसकेको संसद बैठक रोकेर प्रधानमन्त्री शाहले अध्यादेशबाट देश चलाउन खोजेपछि विरोधहरू भइरहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया