अख्तियारद्वारा रुपन्देहीका तत्कालीन मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार अख्तियारले विशेष अदालत, काठमाडौंमा मालपोत कार्यालय, भैरहवा, रूपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले आचार्यसहित तत्कालीन मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजितकुमार साहनी, सियारी गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष रामकिशन थारू, तत्कालीन वडा सदस्य बुद्धिराम कहारसहितलाई प्रतिवादी कायम गरेको छ ।

मृतकको नाममा रहेको जग्गा नक्कली हकवाला खडा गरी नामसारी गरेको दाबी आयोगको छ । रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ का मृतक बेलर कहारको नाममा रहेको २ बिघा ५ धुर (२–०–५ बिगाहा) जग्गा फर्जी कागजातका आधारमा अर्कैको नाममा सारिएको अभियोगपत्रमा उल्लेख छ ।

मृतक बेलर कहारको मृत्युपश्चात् उक्त जग्गाको वास्तविक हकवाला उनकी छोरी सञ्जु कहार थिइन् । सञ्जुलाई हकबाट वञ्चित गर्ने बदनीयतले स्थानीय बुद्धिराम कहारलाई मृतक बेलरको भाइ भनी नक्कली नाता प्रमाणित गरिएको थियो ।

सोही फर्जी नाता प्रमाणित, सर्जमिन मुचुल्का र सिफारिसका आधारमा मालपोत कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा सरकारी अभिलेखमा विवरण थपघट गरी बुद्धिराम कहारको नाममा जग्गा हस्तान्तरण तथा नामसारी गरिएको थियो ।

Published : Wednesday, 2026 April 29, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया