नेपाल र युरोपेली संघबीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान
ब्रसेल्स । बेल्जियमको ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ (ईयू)बीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान गरिएको छ ।
सोमबार ब्रसेल्सस्थित युरोप–एसियाली अध्ययन संस्थान (भ्क्ष्ब्क्) मा आयोजित नेपाल–ईयू टेक फोरम २०२६ मा युरोपेली संघका प्रतिनिधि, अग्रणी प्रविधि कम्पनीहरू, लगानीकर्ता तथा नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता रहेको थियो ।
‘डिजिटल नवप्रवर्तन र लगानी’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रत्यक्ष विदेशी लगानी, डिजिटल प्रतिभाको आवागमन तथा नवप्रवर्तन साझेदारी जस्ता विषयमा नेपाल–युरोप सहकार्यका सम्भावनाबारे छलफल भएको थियो ।
युरोपेली संघका लागि नेपालकी राजदूत सेवा लम्सालले नेपाल डिजिटल रूपान्तरणलाई तीव्रता दिन तयार रहेको र प्रविधि क्षेत्रमा लगानी स्वागत गर्न इच्छुक रहेको बताइन् । उनले नेपालको बढ्दो आइटी सेवा निर्यात र दक्ष जनशक्तिलाई युरोपको डिजिटल सेवाको माग पूरा गर्न सक्षम प्रमुख आधारका रूपमा उल्लेख गरिन् ।
युकेस्थित आइटी तथा साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुसन्सका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले युरोपमा दश लाखभन्दा बढी डिजिटल जनशक्तिको अभाव रहेको बताए । बढ्दो लागत र कडा नियामकीय व्यवस्थाका कारण युरोपेली कम्पनीहरूले दक्षिण एसियाजस्ता क्षेत्रतर्फ ध्यान केन्द्रित गरिरहेको उनले उल्लेख गरेका छन् ।
डिजिटल नवप्रवर्तन र अन्तर देशीय प्रविधि साझेदारीका लागि नेपाल उदाउँदो केन्द्रको रूपमा विश्व मञ्चमा अगाडि आएको उनले बताए ।
फुयाँलले जलविद्युतमा आधारित स्वच्छ ऊर्जाको उपलब्धता र कम लागतमा कम्प्युटिङ क्षमताका कारण नेपाल प्रविधि साझेदारीका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताए ।
युरोपेली आयोगअन्तर्गत सञ्चार, नेटवर्क, सामग्री तथा प्रविधि महानिर्देशनालयका अल्भिस एन्कान्सले युरोपेली डिजिटल नीतिबारे प्रस्तुति दिँदै ‘डिजिटल डिकेड’ अन्तर्गत डिजिटल सार्वभौमिकता, डेटा सुरक्षा, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षामा केन्द्रित प्राथमिकताबारे जानकारी दिए ।
कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले भर्चुअल रूपमा सम्बोधन गर्दै प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न गरिएका नीतिगत तथा संस्थागत सुधारबारे जानकारी गराएका थिए ।
फोरमअन्तर्गत आयोजित दुई वटा प्यानल छलफलमा लगानी तयारी, स्टार्टअप इकोसिस्टम, दिगो डिजिटल विकास तथा डायस्पोराको भूमिका जस्ता विषयमा गहन बहस भएको थियो। युरोपका विभिन्न कम्पनीका विज्ञहरूले डिजिटल पूर्वाधार विस्तार, प्रतिभा आवागमन र नेपाल–युरोप सहकार्यका व्यावहारिक मोडेलबारे आफ्ना अनुभव साझा गरेका थिए ।
छलफलमा सहभागीहरूले नेपालको प्रविधि क्षेत्रले सम्भावनाबाट कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै युरोपसँगको सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताए ।
व्यावसायिक वातावरण सुधार, लगानी प्रक्रियामा सहजता र नाफा फिर्ता लैजान सकिने व्यवस्थामा सुधार भएको पनि उनीहरूले उल्लेख गरे ।
कार्यक्रममा दक्ष जनशक्ति विकासका लागि विश्वविद्यालय स्तरीय सहकार्य आवश्यक रहेको औँल्याउँदै जलविद्युत स्रोतलाई वातावरणमैत्री कृत्रिम बुद्धिमत्ता पूर्वाधार निर्माणमा उपयोग गर्न सकिने सम्भावनामा पनि जोड दिइएको थियो ।
दीर्घकालीन सफलता हासिल गर्न विश्वास निर्माण, प्राविधिक दक्षता अभिवृद्धि तथा नेपाली र युरोपेली कम्पनीबिच बलियो प्रतिभा सञ्जाल निर्माण अपरिहार्य रहेको सहभागीहरूले बताए ।
७० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम नेटवर्किङ सत्रसहित सम्पन्न भएको थियो, जसले आगामी सहकार्यका सम्भावनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया