काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप, पत्रकारलाई फौजदारी अभियोग, महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारसँग सम्बन्धित विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारलाई बेवास्ता गर्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पत्रकार बासुदेव धामी (विमल)लाई साइबर अपराधसम्बन्धी मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गरेर धामीले सञ्चालन गरेको पश्चिम समाचार दैनिक अनलाइनमा प्रकाशित समाचारको विषयमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले दिएको उजुरीका आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरेको जनाएका छन् ।

काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै प्रशासनले पत्रकार धामीलाई फौजदारी अभियोग लगाएकोमा महासंघ आपत्ति प्रकट गरेको छ ।

‘विधि छलेर गरिएको यो कार्य संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताकोविरद्ध रहेको महासंघ ठान्दछ,’ महासचिव दाहालले भनेका छन्, ‘धामीका परिवारलाईसमेत प्रत्यक्ष–अप्रत्यक्ष धम्की आइरहकोप्रति महासंघ सरोकार राख्दछ ।’

‘अतः महासंघ प्रेस काउन्सिल नेपाललाई यो विषय आफ्नो क्षेत्राधिकारमा लिन र प्रहरीलाई यो कदमबाट पछाडि हट्न आग्रह गर्दछ,’ महासंघले भनेको छ, ‘पत्रकार धामीका परिवारको उचित सुरक्षा प्रवन्ध मिलन सम्वद्ध पक्षसँग माग गर्दछ ।’

Published : Monday, 2026 April 27, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया