रितेशको ‘राजा शिवाजी’ नेपालमा पनि रिलिज हुने
मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि रिलिज हुने भएको छ ।
फिल्मको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यपनरेन्द्र वेद र नवीन उदासले फिल्म भारतसँगै नेपालमा पनि रिलिज हुने जानकारी दिएका छन् । उनीहरूका अनुसार फिल्म रिलिजकै दिन विशेष प्रदर्शनी हुनेछ । जसमा भारतीय दूतावासका प्रतिनिधिहरू, नेपाली सञ्चारकर्मी र सेलिब्रेटीहरूको सहभागिता रहनेछ ।
‘साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टीकोणलाई नेपालमा प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ,’ वितरक कश्यपनरेन्द्र वेदले भने, ‘यो केवल एउटा फिल्मको प्रदर्शन मात्र नभई भारत र नेपालबीचको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउने माध्यम पनि हो ।’
उनले भने, ‘दुबै राष्ट्रको वीरताको साझा ईतिहाँस र आध्यात्मिक मूल्यमान्यताले पुस्तौँदेखि हामीलाई प्रेरित गर्दै आएको छ ।’ वितरक वेदले फिल्मको महत्वलाई ध्यानमा राख्दै सिनेमा हलहरूलाई धेरै सो उपलब्ध गराउन समेत आग्रह गरेका छन् ।
मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनमा आधारित यस फिल्मलाई अपभनेता रितेश आफैँले निर्देशन गरेका हुन् । मुख्य भूमिकामा पनि उनी स्वयं देखिएका छन् । फिल्ममा रितेशका साथै जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मान्जरेकर जस्ता दिग्गज कलाकारहरूको अभिनय छ ।
विशेष कुरा त के छ भने रितेशका कान्छा छोरा राहिल देशमुखले यस फिल्ममा छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा डेब्यु गरेका छन् । रितेश देशमुखले शिवाजी महाराजको साहस, बुद्धिमत्ता र गरिमालाई निकै गहिराइमा पुगेर जीवन्त रूपमा प्रस्तुत गरेको समेत बताए ।
जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाले निर्माण गरेको फिल्म आगामी मे १ (वैशाख १८ गते) देखि नेपालमा प्रदर्शनमा आउनेछ ।
फिल्मको बजेट १०० करोड भारतीय रुपियाँभन्दा बढी रहेको छ । रितेश देशमुखले निर्देशन गरेको यसअघिको मराठी फिल्म ‘वेड’ व्यावसायिक रूपमा निकै सफल भएको थियो, जसका कारण ‘राजा शिवाजी’प्रति दर्शकको ठूलो अपेक्षा रहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया