भारतबाट किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना, तस्करी गर्न पाइँदैन : एआईजी मगर

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले नेपाल–भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा एआईजी मगरले मल आयातमा सहजीकरण गरिएको बताए । उनले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको बताएका छन् ।

यसवर्ष मल आयातमा नरोक्नेगरि सीमा सुरक्षा पोस्ट (बीओपी)लाई निर्देशन दिएको उनले बताए । एआईजी मगरले सीमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गरेका छन् ।

खुला सीमाको फाइदा उठाएर मलको नाममा अरु वस्तु तस्करी हुने गरेको एआईजी मगरले बताएका छन् । उनले चेकजाँच लगायतका कार्य भने भइरहेको बताए ।

उनले मलको बोरामा चिनी लगायतका वस्तु आयात हुने गरेको बताए । तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरी बल निर्मम भएर लाग्ने एआईजी मगरले बताए ।

‘नेपाल–भारत सीमाको ९४७ स्थानमा बाटो नै छ । खुला सीमाना १ हजार ८४८ किलोमिटर सिमाना खुला हुँदाखेरी जताततैबाट हिँड्नसक्ने हुँदा सबै ठाउँमा हाम्रो जनशक्ति पुग्दैन,’ उनले भने, ‘त्यसको फाइदा उठाएर मल भनेर अरु चीज आयात हुने गरेको पाइन्छ ।’

उनले भने, ‘मलको बोरामा चिनी ल्याउने तथा अरु तस्करी हुने हुँदा त्यसलाई नियन्त्रण गर्नको लागि हामीले आकस्मिक कार्यहरू गरिरहेका छौँ । मलको आयातमा भने कडाई गरिएको छैन ।’

Published : Thursday, 2026 April 23, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया