प्रधानमन्त्री शाहले अमेरिकी सहायक विदेशमन्त्री कपूरलाई भेटेनन्, रवि–शिशिर र स्वर्णिमसँग भेट
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपूरलाई भेट दिएका छैनन् ।
अमेरिकी सहायक विदेशमन्त्री कपूरको बुधबार नेपाल भ्रमण सम्पन्न भएको छ । भ्रमणका क्रममा कपूरले उच्चस्तरीय भेटवार्ता गरेका छन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग भेट गरे पनि कपूरले प्रधानमन्त्री शाहसँग भने भेट गर्न पाएनन् । नेपालस्थित अनेरिकी राजदूतावासले सामाजिक सञ्जालमा राखेको तस्बिर र पोस्टमा प्रधानमन्त्री शाहसँगको भेट भएको वा नभएको कुनै विषय खुलाएको छैन ।
सहायक विदेशमन्त्री कपूरले नेपाल–अमेरिका साझेदारी सुदृढ गर्ने र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
यसअघि, कुनै पनि विदेश प्रतिनिधि मण्डल तथा व्यक्ति आउँदा प्रधानमन्त्रीलाई बालुवाटार वा सिंहदरबारमा पुगेर भेट गर्ने गर्दथे । कुनै कुनै विदेशी व्यक्तिलाई होटलमा पुगेर भेट गर्ने गरिएका तथ्याङ्क छन् ।
भारतीय मूलका अमेरिकी सहायक विदेशमन्त्री कपूर वैशाख ७ गते काठमाडौं आएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाह नेतृत्वको सरकार बनेपछि कपूर काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन् ।
नेपाल भ्रमणका क्रममा कपूरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसँग उच्चस्तरीय बैठकहरू भएको जनाएका छन् । उनले आउँदो सेलेक्टअमेरिका निवेश सम्मेलनमा नेपालका प्रतिनिधिमण्डलसँग अमेरिकी लगानी अवसरहरूको विषयमा कुराकानी गरेका छन् ।
अमेरिकी सहायक विदेशमन्त्री कपूरले बौद्धनाथ स्तुपा र पाटन दरबार स्क्वायर भ्रमण गरी नेपालको समृद्ध ईतिहाँस र संस्कृतिको विषयमा जानकारी लिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया