अख्तियारद्वारा उपसचिवसहित दुई जनाविरुद्ध ४ करोड २२ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन ईञ्जिनियर पूर्णबहादुर श्रेष्ठसमेत २ जनाविरुद्ध भ्रष्टाचारसहित सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियार विशेष अदालत, काठमाडौंमा उनीहरूविरुद्ध दुवै मुद्दा दर्ता गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठसँगै आयोगले पुरातत्व विभागका सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरू दुवै जनाविरुद्ध ४ करोड २२ लाख ७५ हजार ९८५ रूपियाँ बिगो कायम गरिएको छ ।

उनीहरूले एउटा ठेक्का पाएका निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध जेभीहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा घुस रकम लिएको अभियोगपत्रमा उल्लेख छ ।

घुसवापत बैंक खातामा पाएको उक्त रकम मध्येबाट दुवै जनाले संयुक्त नाममा सम्पत्ति समेत खरिद गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले ६४ करोड २१ लाख ८९ हजार ६०३ रूपियाँको एउटा जेभी ठेक्काबाट पटक–पटक गरी बैंक खातामा ४ करोड २२ लाख ७५ हजार ९८५ रूपियाँ घुस लिएको आयोगको अनुसन्धानबाट प्रवक्ता सुरेश अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले घुसवापत पाएको रकमबाट जग्गा खरिद, सुन खरिद, विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरी सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरेको हुँदा सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरमा समेत मुद्दा दायर गरिएको आयोग प्रवक्ता न्यौपानेले जनाएका छन् । उनीहरूविरुद्ध घुस लिएको कसूरमा अर्को भ्रष्टाचार मुद्दा समेत विशेष अदालतमा दायर भएको छ ।

Published : Tuesday, 2026 April 21, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया